काठमाण्डौ ।नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीके महर्जनले ७४ लाख ५१ हजार रुपैयाँ वार्षिक तलबभत्ता बुझेका छन् । 
 

कम्पनीले सार्वजनिक गरेको ७५औं वार्षिक प्रतिवेदनअनुसार सीईओ महर्जनले गत आर्थिक वर्ष २०७९/ ०८० मा तलब, भत्तावापत साढे ७४ लाख रुपैयाँ बुझेका हुन् । 
 

कम्पनीको गत पुस १३ गते सम्पन्न ७५औं वार्षिक साधारण सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा सञ्चालक समितिलाई बैठक भत्ताबापत १८ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले बताएको छ ।

यसका साथै प्रबन्धक तथा सो भन्दामाथिका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधाबापत जम्मा ३ करोड १० लाख ८५ हजार रुपैयाँ भुक्तानी गरिएको छ । 
 

बीमा कम्पनीहरुले सीईओलाई प्रदान गरिने निश्चित वार्षिक तलब भत्ता विगत तीन आवको औषत कर्मचारी खर्चको ६ प्रतिशत र औषत कुल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म गणना गर्नुपर्ने व्यवस्था छ । 
 

कर्मचारी खर्च भन्नाले सीईओसहित सम्पूर्ण कर्मचारीको वार्षिक तलबभत्ता, चाडपर्व खर्च, कर्मचारी सञ्चय कोषमा थप, तालिम खर्च, पोशाक, औषधोपचार, बीमा, पेन्सन, उपदान खर्च तथा व्यवस्था, बिदा बापतको खर्च तथा व्यवस्था, पुरस्कार, ओभरटाइम, पर्फमेन्स बोनस, प्रोत्साहन सुविधा र कर्मचारी सेवाशर्त विनियमावलीमा उल्लेख भएको कर्मचारीले प्राप्त गर्ने रकम तथा सुविधालाई जनाउँछ ।