काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर कारोबार भएको छ। कारोबारको अन्त्यमा बजार करिब २३ अंक बढेर बन्द भएको छ।

नेप्सेको दैनिक चार्टमा यो साताका ४ कारोबारलाई मिलाएर हेर्दा ‘बुलिस पिनबार’ बन्दै गरेको देखिन्छ। लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर आकृतिका क्यान्डल बन्छ भने त्यसलाई बुलिस पिनबार भनिन्छ। यस्तोमा पुच्छरको लम्बाइ ह्याम्मरको बडीको तुलनामा कम्तीमा दुईगुणा हुनुपर्छ। (हेनुहोस् माथि मुख्य तस्बिरमा) 

यसको ठीकविपरीत यदि बढ्दो बजारमा हरियो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर र त्यसपछि रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई बियरिस पिनबार भनिन्छ। 

यो साता आजसम्मका ४ कारोबारमा बुलिस पिनबार बनेको छ। आज बजारमा  मंगलबार बनेको ह्याम्मरलाई पूरै ढाकेर बजार १८४५ मा बन्द भएको छ। न्यून विन्दुमा बुलिस पिनबार बनेका कारण बजारले अब माथिकोे यात्रा तय गर्दै गरेको बुझिन्छ। तर, यसको कन्फर्मेसनका लागि अब आउने कारोबारमा बजार ग्याप अप ओपनिङसहित खुलेर बजार १८६० भन्दा माथि बन्द हुनुपर्नेछ। 

बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा ब्यान्डको तल्लो विन्दुमा ट्विजर बटम बनाएर माथि फर्केको छ। यसको कन्फर्मेसनका लागि पनि बजार आगामी कारोबारमा मध्य ब्यान्ड अर्थात १८६३ भन्दा माथि भोलुमसहित बन्द हुनुपर्नेछ। म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको तर नभइसकेको अवस्था रहेको छ। 

आरएसआई भने ३४ को जोनबाट फर्केर हाल ४३ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा भने बजार घट्न रोकिएको भन्ने अनुमान लगाउन सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कारोबारका लागि सिफारिस भने होइन।