काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै उतारचढाव आएको थियो। आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। अन्तिम समयमा भने बजार ३५ अंकले घटेर बन्द भएको छ। आज बजार घट्दा अघिल्लो २ कारोबार दिनको तुलनामा कारोबार भने बढेको छ।

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो दिन बुलिस मारुबुजु क्यान्डल बनेको बजारमा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। नेप्सेको चार्टमा मंगलबार र बुधबार दुवै दिन देखिएको क्यान्डललाई मिलाएर हेर्ने हो भने ‘डार्क क्लाउड कभर’ बनेको बुझिन्छ। 

यदि बजार कोही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ तथा दिनभरको कारोबारमा बिक्रीकर्ता हाबी भएर मूल्य तथा सूचकलाई ओपनिङ विन्दुभन्दा तल धकेल्छन् भने त्यस्तो अवस्थामा चार्टमा डार्क क्लाउड कभर बनेको बुझिन्छ। (हेर्नुहोस् कोठाभित्र कालो एरोे) 

यस्तो क्यान्डल अघिल्लो दिनको क्यान्डलभन्दा ५०  प्रतिशतभन्दा तल बन्द हुने गर्छ। यसले बजारमा अल्पकालका लागि केही करेक्सन हुन सक्ने बुझिन्छ। 

डार्क क्लाउड कभर भ्यालिड हुन आरएसआईको अवस्था ओभरबट जोन अर्थात ७० माथि हुनुपर्ने हुन्छ। डेली बेसमा आजको आरएसआई ७० कै तहमा देखिन्छ। 

आज बनेको डार्क क्लाउड कभर पूर्ण रुपमा भ्यालिड नै हुन भने आगामी कारोबारमा बजार मंगलबार बनेको क्यान्डलको लो विन्दु २१३२ भन्दा तल बन्द हुनुपर्नेछ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।