काठमाण्डौ । सेयर बजारमा आज दिनभर करिब ४४ अंकको उतार–चढाव भएको छ। कारोबारको अन्तिममा २१ अंकले घटेर बजार बन्द भएको छ। योसँगै ३ कारोबार दिनमा बजार ११० अंकले घटिसकेको छ। 

प्राविधिक रुपमा (डेली बेसमा) हेर्दा बोलिंगरको अप्पर ब्यान्डमा प्रतिरोध सामना गरेर झरेको बजार आज करिब मध्य ब्यान्डनजिक आएको देखिन्छ। तीन कारोबार दिनमा आज केही छोटो रातो क्यान्डल बनेको छ। यसले बजार घट्ने क्रम घटेको बुझिन्छ। 

अब बजारले करिब मध्य ब्यान्डमा सपोर्ट लिन सक्ने देखिन्छ। त्यो भनेको करिब २०४४ आसपास हुने देखिन्छ। 

क्यान्डल स्टिकमार्फत बजारलाई हेर्दा नेप्सेको चार्टमा ‘थ्री ब्ल्याक क्रोज’ बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।

कारोबार तथा भोलुमका आधारमा हेर्दा बजार घट्दा भोलुम पनि घट्दै गएको देखिन्छ।

बजारलाई म्याक्डीमार्फत हेर्दा करिब बियरिस क्रसओभर हुन थालेको देखिन्छ। तर, भइसेकेको अवस्था भने होइन। 

आरएसआईमार्फत हेर्दा करिब ८० को ओभरबट जोनबाट खसेर बजार हाल ५६ को तहमा आएको देखिन्छ। आवरली बेसमा भने बजारको आरएसआई ३९ को तहमा पुगेको देखिन्छ। अघिल्लोपटक बजार करिब ३४ को तहबाट फर्केको थियो। 

विगतको ट्रेन्डलाई हेर्दा तीन दिन घटेपछि बजारले पुनः लय लिएको देखिन्छ। यदि आगामी कारोबारमा बजारले इन्ट्रा डेमा बोलिंगरको मध्य ब्यान्डमा छोएर ह्याम्मर प्रकृतिको हरियो क्यान्डल बनाएमा पुनः माथिको यात्रा तय गर्न सक्छ। 

डेली बेसमा मध्य ब्यान्डबाट पनि तल झरेमा र म्याक्डीमा पनि बियरिस क्रसओभर बनेमा भने बजार केही समय साइडवेज पनि चल्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।