काठमाण्डौ । लगातारको गिरावटमा ब्रेक लाग्दै आज सेयर बजार ४१ अंकले बढेर बन्द भएको छ। हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। 
आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। हिजो बजार २८ अंकले घटेको थियो।

आजको बढोत्तरीसँगै नेप्से चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै ढाक्ने गरी बुलिस क्यान्डल बन्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ। यसको अर्थ अघिल्लो दिनको मैनबत्तीको लम्बाइभन्दा पछिल्लो दिनको मैनबत्तीको लम्बाइ लामो हुनु हो (हेर्नुहोस् कालो एरो)। यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ। 

यसविपरीत यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको राता क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनेर बुझिन्छ। हाल नेप्सेमा बनेको बुलिस इन्गल्फिङको भ्यालिडिटी भने ६० प्रतिशतमात्रा रहेको पाइन्छ। 

म्याक्डीमार्फत हेर्दा आज बजारमा हिस्टोग्राम नेगेटिभ रहे पनि फिक्का बनेको छ। आरएसआई ३६ को तहबाट फर्केर ४५ को जोनमा पुगेको छ। 

बजारलाई वान आवर टाइम फेरमा हेर्दा भने म्याक्डीमा बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम सकारात्मक भएको छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा आज बजारले मध्य ब्यान्डमा ब्रेक गरेको छ। आरएसआई ओभर सोल्ड जोन २५ बाट फर्केर ५० को न्युट्रल जोनमा पुगेको छ। यसले बजारमा बाउन्स ब्याक भएको बुझिन्छ। 

पिभटमार्फत बजारलाई हेर्दा आज २०६० मा बन्द भएको बजारले अब क्रमशः २०९६, २१३१ र २१७३ मा प्रतिरोध सामना गर्न सक्छ। 

त्यसैगरी घटेमा बजारले २०२०, २००० र १९७८ मा सपोर्ट लिन सक्छ। बजार फर्किहालेको भन्नलाई भने बजारले २१०० माथि भोलुमसहित टिक्नुपर्ने हुन्छ। 

नोटः सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।