काठमाण्डौ । आज सेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो। अन्तिममा ४४ अंकले बढेर बजार बन्द भएको छ। 

प्राविधिक रुपमा आज बजारमा बुलिस प्रकृतिको क्यान्डल बनेको छ। आज २ महिनापछि उच्च कारोबार भएको छ। गत जुन २४ मा ४ अर्ब ७३ करोड कारोबार भएको थियो। आज ३ अर्ब २९ करोडको कारोबार भएको छ। यो भनेको दैनिक औसत भोलुमभन्दा बढी हो। 

आजको बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा लामो समयपछि मूल्यरेखा मध्य ब्यान्डभन्दा माथि गएर बन्द भएको छ। यसले बजारले बुल यात्रा तय गर्दैै गरेको बुझिन्छ।

म्याक्डीमार्फत हेर्दा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआईमार्फत हेर्दा यसअघिको प्रतिरोध ५० को विन्दुलाई तोडेर बजार ५५ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा पछिल्लोपटक १९३० बाट फर्केको बजार आज २००० हजार माथि बन्द भएको छ। यस हिसाबले पछिल्लोपटक १९३० बाट फर्केको बजारले १९६३ मा हायर लो कन्फर्मेसन गरेको छ।

बजारलाई पिभट प्वइन्टमार्फत हेर्दा आज इक्ज्याक्ट पिभट प्वइन्ट २०३३ मा प्रतिरोध सामना गरेको छ। आगामी कारोबारमा यदि पिभट प्वइन्टभन्दा माथि जान्छ भने बजारले अब क्रमशः २०८१, २१७२ र २२२० मा प्रतिरोध सामना गर्न सक्छ। 

त्यसैगरी घटेमा भने बजारले १९५७, १९०८ र १८८३ मा सपोर्ट लिन सक्छ। 

आज बुलिस प्रकृतिको क्यान्डल बनेसँगै गत ३० जुलाईमा रातो क्यान्डल बनाएर मध्य ब्यान्डबाट तल खसेको बजारले आज पुनः हरियो क्यान्डल बनाएर मध्य ब्यान्ड माथि चढेको छ। योसँगै मध्य ब्यान्ड ब्रेक आउट भएको छ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।