काठमाण्डौ । करिब दुई वर्षपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समीक्षापछि साताको पहिलो दिन आइतबार बजार तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १११.२० अंकले बढेको हो । यो दिन सेयर बजार ६ प्रतिशत बढ्दा विभिन्न समूहका १२ भन्दा बढी कम्पनी सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन १० प्रतिशत मूल्य बढेका कम्पनीमा  शुभम पावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, कालिञ्चोक दर्शन, इङ्वा हाइड्रोपावर, त्रिशूली जलविद्युत्, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, नेपाल एसबीआई बैंक, चन्द्रागिरि हिल्स, सिंगटी हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनी छन्।

यी कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेका छन् ।
यसैगरी, समता घरेलु लघुवित्त, सीवाईसी लघुवित्त, आशा लघुवित्त, राधि विद्युत्, ङादी ग्रुप, चिलिमे हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयरमूल्य ९.८ प्रतिशतले बढेको छ ।

यो दिन सबै समूहमा हरियाली छाउँदा कालिका लघुवित्त र उपकार लघुवित्तको सेयरभाउ भने घटेको छ । कालिका लघुवित्तको सेयरभाउ प्रतिकित्ता ३० पैसा र उपकार लघुवित्तको सेयर भाउ ४ रुपैयाँले घटेको छ।

जसमा उपकार लघुवित्तले आइतबार नै लाभांश नदिने र गत आर्थिक वर्षको मुनाफा सञ्चिकोषमा राख्ने घोषणा गरेको थियो ।

यो दिन सबैभन्दा बढी कारोबार माउन्टेन इनर्जीको भएको छ । यो दिन उक्त कम्पनीको ३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै सोनापुर मिनरल्स एन्ड आयलको ३ करोड ५८ लाख, नेपाल इन्स्योरेन्सको २ करोड १८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९८ लाख र सन नेपाल लाइफको १ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । 

आजको बजार बारे अर्थशास्त्री मुक्ति बहादुर खत्री भन्छन्, ‘लगानीकर्ताहरु अहिलेसम्म धेरै निरास थिए,राष्ट्रिय र अन्तरराष्ट्रिय अर्थपरिदृष्य पनि धेरै शिथिल अवस्थामा थियो, त्यसको प्रभाव अघिल्लो साताको मौद्रिक नीतिको समीक्षाले सपोर्ट गरेको हो ।त्यसै कारणले आज बजारमा बढोत्तरी आएको हो ।अब केन्द्रीय बैंकबाट निर्देशिका पनि आउला र यसलाई ठूला लगानीकर्ताले के कसरी लिन्छन्  त्यसले नै बजारको दिशा तय गर्छ ।’

उनले लामो समयको वियरिश ट्रेन्ड अन्त्य भएको र अब बजार चाहिं अपट्रेन्डमै अगाडि बढ्ने पनि बताए ।