काठमाण्डौ । नेरुडे लघुवित्तको नाफामा पहिरो गएको छ । यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको खूद नाफामा संकुचन आई ५ करोड ६४ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा कम्पनीको खूद नाफामा ४०.४१ प्रतिशतको पहिरो गएको देखिएको हो । 

कम्पनीको संचालन मुनाफामा समेत ४०.४१ प्रतिशतकै पहिरो गएको छ । अघिल्लो वर्ष १४ करोड ८७ लाख रहेको यस्तो मुनाफा घटेर ८ करोड ८६ लाखमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा नेरुडेले १ अर्ब ५१ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ८४ करोड सापटी लिई ३ अर्ब ९५ करोड बढीको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब १३ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ६४ करोड सापटी लिई ३ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीको जगेडाकोष पनि गत वर्षको तुलनामा खिइएको छ । ३९ करोड ६६ लाख रहेको जगेडाको आकार घटी ३३ करोड ९६ लाखमा सीमित बन्न पुगेको हो । 

नेरुडेमा खराब कर्जाको अनुपात समेत बढेको छ । अघिल्लो वर्ष ०.८७ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.६० प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा नेरुडेको प्रतिसेयर आम्दानीमा करिब ४८ प्रतिशतको पहिरो गई १६.३२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १९८.२२ र मूल्य आम्दानी अनुपात ३९.०४ गुणा कायम भएको छ ।