काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा उत्साहजनक प्रगति गरेको छ ।

कम्पनीले कोरोना प्रभावलाई समेत व्यवस्थापन गर्दै आफ्नो नाफामा १५७.३२ प्रतिशतको छलाङ मारेको हो । समीक्षा अवधिमा कम्पनीको खूद नाफा बढेर १८ करोड २३ लाखको उचाईमा पुगेको छ, जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ७ करोड ८ लाखमा सीमित थियो । 

समीक्षा अवधिसम्म ४९ करोड ३८ लाख चुक्तापूँजी रहेको यो कम्पनीले पनि व्यवसाय विस्तारमा विशेष ध्यान दिएको देखिन्छ ।

अघिल्लो वर्ष ३८ करोड ३८ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ५६ करोड ७२ लाखको उचाईमा पुगेको छ । यसरी खूद ब्याज आम्दानीतर्फ ४८ प्रतिशत हाराहारीमा प्रगति भएको देखिएको छ । 

अघिल्लो वर्षको तुलनामा ४१.०१ प्रतिशतले रिजर्बलाई मजबुत बनाएको कम्पनीले ३ अर्ब ९० करोड सापटी लिई तथा २ अर्ब ६१ करोड बढी निक्षेप संकलन गरी ७ अर्ब ९० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा सापटी रकम, निक्षेप र कर्जातर्फ क्रमशः ६५, २० र ४४ प्रतिशतको सुधार गरेको देखिन्छ । 

कोरोनाकालको प्रभाव कम्पनीको खराब कर्जामा भने देखिएको छ । अघिल्लो वर्ष ३.९७ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर यो वर्ष ४.३६ प्रतिशत पुगेको छ । यो भने राम्रो संकेत होइन । 

अघिल्लो वर्ष ८.९८ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ६.६२ प्रतिशतमा सीमित भएको छ भने १५.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी(इपीएस) बढेर ३६.९२ रुपैयाँको उचाईमा पुगेको छ । 

नेरुडेको प्रतिसेयर नेटवर्थमा पनि सुधार भई २२८.६३ रुपैयाँ पुगेको छ भने त्रैमासको अन्तिम दिनको बजार मूल्यका आधारमा पीई रेसियो ४३.३३ गुणा कायम भएको छ ।