काठमाण्डौ । केही माइक्रोफाइनान्सहरुले निराशाजनक वित्तीय विवरण प्रकाशन गरिरहेको बेला नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले भने खूद नाफा बढेको रिपोर्ट प्रकाशन गरेको छ । 

यो माइक्रोफाइनान्सले आइतबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ५७ लाख खूद नाफा आर्जन गरेको देखिएको छ । अघिल्लो वर्ष यो कम्पनीको खूद नाफा ७ करोड २१ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको खूद ब्याज आम्दानी बढेर १७ करोड २३ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १४ करोडमा सीमित थियो । 

यो अवधिमा नेशनल माइक्रोफाइनान्सले ७४ करोड ५८ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ६८ करोड कर्जा सापटी लिई २ अर्ब ४१ करोड बढीको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३२ करोड ६० लाख निक्षेप संकलन गरी तथा १ अर्ब ३५ करोड कर्जा सापटी लिई १ अर्ब ६२ करोड बढीको कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १२ करोडमा सीमित कम्पनीको रिजर्ब कोष बढेर समीक्षा अवधिमा १७ करोड माथि पुगेको छ भने अघिल्लो वर्ष ११ करोड ३३ लाखमा सीमित संचालन नाफा बढेर यो वर्ष १३ करोड ४७ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ०.४७ प्रतिशत रहेको खराब कर्जा बढेर ०.९२ प्रतिशत पुगेको छ भने ७.०५ प्रतिशतमा सीमित कस्ट  अफ फण्ड बढेर ९.४१ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७१.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४२.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.८४ गुणा कायम भएको छ ।