काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यावसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम शुक्रबार र शनिबार पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको  छ। 

कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रमअन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यावसायिक एजेन्सी लिडरहरुलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले ‘सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/७८’ प्रदान गरेकी हुन्। 

कार्यक्रममा देशभरबाट आ.व. २०७७÷७८ मा आफ्नो व्यक्तिगत व्यवसायका आधारमा एवं एजेन्सी सञ्जालका आधारमा प्रथम, द्वितीय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो। यसरी पुरस्कृत हुने चिफ बिजनेस म्यानेजरहरुमा व्यक्तिगत व्यवसायका आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितीय र युवराज बास्तोला तृतीय भएका छन्। 

यसै गरी अभिकर्ता सञ्जालका आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वितीय र टीकाप्रसाद खरेल तृतीय भएका छन्। 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप व्यवसायीकरणका लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनी अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमकी सभापति प्रेमा राज्य लक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशैभरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यावसायिक दक्षता वृद्धि गरी व्यावसायिक सफलता हासिल गर्न कोशेढुंगा साबित हुने विचार व्यक्त गरिन्। उनले कम्पनीको हालसम्मको समग्र वित्तीय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यावसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रही रहने विचार व्यक्त गरिन्। 

कार्यक्रममा अध्यक्ष सिंहले एक नयाँ बीमालेख जीवन श्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै सो नयाँ बीमा योजनाबाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले आयस्रोतका रुपमा उपलब्ध हुने यस बीमा योजनाबाट अवकाश जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। 

कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यावसायिक अनुभवहरु सुनाउँदै कम्पनीको व्यावसायिक उचाइ अझ नयाँ ठाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त भएका थिए। उपस्थित लिडरहरुको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ भारतको मुम्बईस्थित सुप्रसिद्ध प्रशिक्षक विजयकुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए।