काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा प्रि–एमडीआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ।

‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले सम्पन्न गरिएको कार्यक्रमको  प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीज्यूले पानसमा दीप प्रज्ज्वलन गरी सुरु गरेका थिए। 

कार्यक्रममा उपस्थित करिब ७०० जना अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए। 

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीका सबै संरचना उत्कृष्ट रहेको र कम्पनीको बोनसदर पनि आकर्षक रहेको जानकारी गराए। उनले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धताअनुसार यो कार्यक्रम काठमाण्डौ, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरिसकेको र यसैको निरन्तरताअनुसार दमकमा पनि गरिएको बताए। 

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमनकुमार राईद्वारा सञ्चालित कार्यक्रममा समयभन्दा अगावै एमडीआरटीको लक्ष्य पूरा गरिसकेका दमक शाखाअन्तर्गतकी अभिकर्ता रिता राई शेर्मा र उर्लाबारी शाखाकी अभिकर्ता एलिशा आले मगरलाई खत्रीले सम्मान गरेका थिए। 

कार्यक्रममा सहभागी अभिकर्ताले अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया दिए। कार्यक्रममा सम्मानित भएका अभिकर्ताले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए। 

कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्रकुमार बाछाना राईको सभापतित्वमा भएको थियो।