काठमाण्डौ । बम्पर लाभांश पारित गर्ने मुख्य अजेन्डासहित ‘घ’ वर्गको नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको मंसिर ६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते धादिङको धादिङबेसीस्थित क्रिक रिसोर्टमा सभा गर्ने भएको हो । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको ८० प्रतिशत बम्पर लाभांश पारित हुनेछ । जसमा चुक्तापुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँको ७५ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँबराबरको बोनस सेयर (१०ः७.५ को अनुपातमा) र ५ प्रतिशतले हुन आउने ७५ लाख ४४ हजार १५० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

बोनस सेयर वितरणपछि पुग्ने संस्थाको चुक्तापुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँको ५० प्रतिशतले अर्थात २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैगरी सभामा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन गरी नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

सभामा विशेष प्रस्तावका रुपमा राखिने अन्य कुनै ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य अगाढि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने पारित हुनेछ ।

सभामा वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित गरिनेछ । साधारणसभा प्रयोजनार्थ संस्थाले मंसिर १६ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १५ गतेभित्र कायम सेयरधनीहरुले मात्र संस्थाको बम्पर लाभांशको हकदार बन्न र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।