काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक एवं सर्वसाधारणाई सहज र सरल तरिकाले थप सेवासुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुआत गरेको छ।

कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेकी हुन्। सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेखसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन्। 

यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धताअनुरुप कम्पनीले स्मार्ट मोबाइल एप लन्च गरेको र यस एपका माध्यमबाट अभिकर्ता तथा ग्राहकले डिजिटलाइजेसनका मार्फत छिटोछरितो कार्य सम्पादन गर्न सक्ने बताए। 

स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रबन्धक प्रज्ज्वल सायमीले विस्तृत जानकारी गराउँदै यस एपबाट अभिकर्ताले आफ्नोलगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एपमार्फत नै आफ्ना बीमितलाई सम्पर्क गरी बीमालेख व्यतीत हुनबाट जोगाउन सक्ने व्यवस्था रहेकाबारे जानकारी गराए। 

यसैगरी कम्पनीका बीमितहरुले एपमार्फत बीमाशुल्क नवीकरणका सूचना प्राप्त गर्न सक्ने र एपमार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्वसाधारणले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्नेलगायतका धेरै विशेषता एपमा रहेको जानकारी गराए। 

कार्यक्रममा सहभागी अभिकर्ताले एपका माध्यमबाट सहज रुपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवर्द्धनमा अझ बढी सहयोग मिल्ने धारणा राखे। कार्यक्रममा देशैभरि रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुख र वरिष्ठ अभिकर्ताको उपस्थिति थियो।