काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको तुलनामा खूद नाफा २८.३१ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्ष यही अवधिमा ३४ करोड १३ लाखमा सीमित संचालन मुनाफा बढेर ४४ करोड ७७ लाखको उचाईमा पुगेको छ भने ५३ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ८० करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा ज्योति विकास बैंकले २७ अर्ब २० करोड निक्षेप संकलन गरी २३ अर्ब ९० करोड कर्जा परिचालन गरेको छ । निक्षेप ८०.६३ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारमा भने ७२.५६ प्रतिशतको प्रगति गरेको छ । यो बैंकको निक्षेप र कर्जातर्फको प्रगति निकै सन्तुलित देखिएको छ । 

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ४२ करोड ३९ लाखमा सीमित रिजर्बको आकार बढाई  ६३ करोड ४१ लाखको उचाई चुमाएको छ भने १.२७ प्रतिशत रहेको खराब कर्जाको अनुपात अझै घटाएर ०.९२ मा झार्ने सफलता पाएको छ । 

अघिल्लो वर्ष यही अवधिमा ९.०४ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर  ८.६२ प्रतिशतमा सीमित भएको छ भने १२.६५ प्रतिशत रहेको आधार दर घटेर ११.६८ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष ११.४३ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी सामान्य बढी १२.२७ रुपैयाँको उचाईमा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२०.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.४१ गुणा कायम भएको छ ।