काठमाण्डौ । नवील बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई ३४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २अर्ब ३२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहे बैंकले यो वर्ष ३ अर्ब ९ करोडको हाराहारीमा बाँड्न मिल्ने नाफा कमाउने देखिन्छ । हाल यो बैंकको चुक्तापुँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ । यो हिसाबले यो वर्ष बैंकले ३४ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको हो। 

नवील बैंकले नौ महिनामा ३ अर्ब १९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खूद नाफा ३.१७ प्रतिशतले मात्र बढेको देखिएको छ । 

बैंकले अघिल्लो वर्ष ४ अर्ब २५ करोड रहेको संचालन मुनाफा बढेर यो वर्ष ४ अर्ब ५० करोडको उचाईमा पुगेको छ भने ४ अर्ब ५६ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ५ अर्ब ४१ करोड पुगेको छ । 

समीक्षा अवधिमा नवील बैंकको ब्याज आम्दानी मात्रै ११ अर्ब माथि पुगेको देखिएको छ । ब्याज खर्च ५ अर्ब ८० करोड मात्र रहेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा परिचालन गरेको थियो।

यस्तै, ९ अर्ब २८ करोड रहेको रिजर्बमा सामान्य संकुचन भई ९ अर्ब ६ करोडमा सीमित भएको देखिएको छ भने १.०७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.६४ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएको छ । 

नवील बैंकको कस्ट अफ फण्ड भने बढेको देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा ४.६३ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ६.०६ प्रतिशत पुगेको हो ।

यस्तै, ७.३३ प्रतिशत रहेको आधार दर बढेर ७.९९ प्रतिशत पुगेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी ५१.७४ प्रतिशतबाट घटेर ४७.६९ प्रतिशतमा सीमित बन्न पुगेको छ ।