काठमाण्डौ । भारतमा धनाढ्यको संख्या बढिरहेको छ। फोर्ब्सले हालै जारी गरेको शीर्ष १०० भारतीय धनाढ्यको लिस्टमा थ्रुपै नयाँ नाम जोडिएका छन्।

यो सूचीमा थुप्रै महिला पनि समावेश छन्। तिनै महिलामध्ये एक हुन्, रेणुका जगतियानी। उनको कहानी निकै रोचक छ। उनका पति एक क्याब चालक थिए र आज उनको परिवार भारतका धनाढ्यहरुको सूचीमा सामेल भएको छ। 

रेणुका भारतीय धनाढ्यको सूचीमा ४४औँ स्थानमा छिन्। उनको कुल सम्पत्ति भारु ३९ हजार ९२१ करोड रहेको छ। यो सम्पत्तिका साथ उनी थुप्रै धनाढ्य भारतीयभन्दा अगाडि छिन्। 

रेणुका पहिलोपटक फोर्ब्सको १०० धनाढ्य भारतीयको सूचीमा पर्न सफल भएकी हुन्। उनको दुबईमा ठूलो कारोबार छ। 

रेणुकाका पति बेलायतका सडकमा क्याब चलाउँथे। आज उनको परिवार राम्रै स्थानमा रहेको छ। 

रेणुकाका पति मिकी जगतियानीको निधन भइसकेको छ। मिकी १९७० को दशकमा लन्डनमा क्याब चालक थिए। मिकीका आमा–बुवा र भाइको १९७३ मा अचानक मृत्यु भएको थियो। त्यसपछि उनी आफ्नो भाइको खेलौना पसल सम्हाल्न सुरु गरेका थिए। करिब १ दशकसम्म उनले बच्चा खेलौनाको पसल चलाए। यसबीच उनले टोयज आउलेट्स बढाउँदै लगे र १० वर्षमा ६ वटा पसल सञ्चालनमा ल्याए। त्यसपछि खाडी युद्ध सकिएपछि उनी दुबई पुगे र तयहाँ आफ्नो ल्यान्डमार्क ग्रुप सुरु गरे। 

ल्यान्डमार्क ग्रुपका माध्यमबाट मिकीले मध्यपूर्व र दक्षिणपूर्व एसियामा पेसन, इलेक्ट्रोनिक्स, फर्निचरसमेत होटेल बिजनेसमा आफ्नो कारोबार विस्तार गरे। मिकीले निधनपछि रेणुकाले कारोबार सम्हालिन्। उनले १९९३ मा ल्यान्डमार्क ग्रुपमा इन्ट्री गरेकी थिइन्। 

तीन बच्चाकी आमा रेणुकालाई ४.८ अर्ब डलरको सम्पत्ति विरासतमा प्राप्त भएको थियो। अहिले यो ग्रुपमा उनी अध्यक्ष छिन् र उनका तीन सन्तान आरती, निशा र राहुल बोर्ड अफ डाइरेक्टरमा सामेल छन्। 

रेणुकाले कम्पनीको कमान सम्हालेपछि आफ्नो कारोबार झनै विस्तार गरिन्। आज यो कम्पनीको करिब २१ देशमा २ हजार २००भन्दा बढी स्टोर सञ्चालनमा रहेको छ। भारतमा मात्रै यो कम्पनीको ९०० भन्दा बढी स्टोर रहेको छ। –एजेन्सी