काठमाण्डौ । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।

रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरुको निर्यातमा रोक लाग्नेछ। रुसको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरुलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने जनाएको छ। यो उपाय रुसमाथि थोपिएका प्रतिबन्धहरुको तर्कपूर्ण प्रतिक्रिया रहेको रुसको भनाइ छ। 

रुसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि लगाइएको प्रतिबन्ध अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यका साथ लगाइएको जनाएको छ। रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरु समावेश गरिएका छन् र यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहनेछ।

पश्चिमाहरुले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्। उनीहरुले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन्।

रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्। रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरु दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ।

प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन्। त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरु पनि समावेश छन्।

रुसका पूर्वराष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरुको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो। रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरुले सामूहिक रुपमा लगानी रोकिरहेका छन्।

मस्कोले बुधवार अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ।

बिहीबार एउटा वक्तव्यमा मेद्भेदेभले भनेका छन्, ‘रुस सरकारले पहिले नै केही उपायमा काम गरिरहेको छ र त्यसमा विदेशी कम्पनीका सम्पत्तिको राष्ट्रियकरण समावेश छ। विदेशी कम्पनीहरुले के बुझ्नुपर्छ भने उनीहरुलाई हाम्रो बजारमा फर्किन गाह्रो हुनेछ।’

मेद्भेदेभले विदेशी लगानीकर्ताले सामान्य रुसी नागरिकमा ‘आतंक’ सिर्जना गरेको आरोप पनि लगाएका छन्। –बीबीसीबाट