काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक माछापुच्छ्रे बैंक बनेको छ । 

बैंकले रेगुलेटरी एडजेस्टमेन्टपछिको फ्री प्रोफिट ३८ करोड ६९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो प्रफिट २८ करोडमा सीमित थियो । 

एनएफआरएस अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट डेढ करोड बढी थपिँदा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता बढेको देखिन्छ । 

यो बैंकले समीक्षा अवधिमा कमालको प्रगति हासिल गरेको छ । बैंकको खूद नाफा ४८.४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले २५ करोड खूद नाफा आर्जन गरेकोमा त्यो बढेर ३७ करोड १६ लाख बढी पुगेको हो ।

समीक्षा अवधिमा बैंकको संचालन मुनाफातर्फ समेत कमालको प्रगति भएको छ । अघिल्लो वर्ष ३५ करोड ८६ लाख रहेको यस्तो नाफा बढेर ५४ करोडको उचाईमा पुगेको हो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । बैंकले ५६ करोड ९७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ८४ करोड २५ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ७७ अर्ब ९८ करोड निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६० अर्ब ३० करोड निक्षेप संकलन गरी ५४ अर्ब ९२ करोड बढी कर्जा परिचालन गरेको छ । 

बैंकले रिजर्ब कोषमा १०७ प्रतिशतको हाराहारीमा फड्को मारेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३० करोड रहेको रिजर्ब कोष बढेर २ अर्ब ६९ करोडको उचाईमा पुगेको छ । 

बैंकमा खराब कर्जा केही बढेको छ । अघिल्लो वर्ष ०.४५ प्रतिशतमा सीमित खराब कर्जा केही बढेर ०.४७ प्रतिशत पुगेको हो । 

नाफामा राम्रो वृद्धि भएका कारण बैंकको प्रतिसेयर आम्दानी करिब ४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.४९ रुपैयाँ रहेकोमा बढेर १८.४६ रुपैयाँको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९२ गुणा कायम भएको छ ।