काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज(शुक्रबार) प्रकाशित गरेका छन् । 

प्रकाशित विवरणमा अधिकांश बैंकहरुले नाफा बढाउने कोशिश गरेको देखिन्छ भने अन्य वित्तीय सूचकहरुमा पनि सुधारको उल्लेख्य प्रयासहरु भएका देखिन्छ । 

बैंकिङ उद्योगमा प्राय चर्चा भइरहने र मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका तीनवटा वाणिज्य बैंक नवील, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले पहिलो त्रैमासमा गरेका प्रगतिहरुको तुलनात्मक विश्लेषण गर्न खोजिएको छ । 

खूद नाफा
उद्योगको लिडर बैंक नवीलले समीक्षा अवधिमा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा भने घटेको देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा नवीलले १ अर्ब ५७ करोड नाफा कमाएको थियो । 

खराब कर्जाको अनुपात केही बढेका कारण इम्प्येरमेन्ट चार्ज बढेका कारण नवील बैंकको नाफामा गिरावट आएको देखिन्छ । समीक्षा अवधिमा नवीलले इम्प्येरमेन्ट चार्जको रुपमा १ अर्ब ११ करोड रकम छुट्याएको छ । अघिल्लो वर्ष ९९ करोड हाराहारी मात्र यस्तो रकम छुट्याउनुपरेको थियो । 

नवील बैंकको नाफा घट्दा ग्लोबल आइएमई बैंकले भने नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १८ करोड हाराहारीमा सीमित यस बैंकको खूद नाफा बढेर १ अर्ब २२ करोड माथि पुगेको हो । 

अघिल्लो वर्ष यही अवधिमा ७२ करोड रहेको यस बैंकको इम्प्येरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड पुग्दा समेत नाफा बढाएको देखिन्छ । 

एनआइसी एशिया बैंकको नाफामा भने अघिल्लो वर्षको तुलनामा तीव्र गिरावट आएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड बढी नाफा कमाएको एनआइसी एशिया बैंकले यस वर्षको सोही अवधिमा १ अर्ब १ करोड मात्र नाफा कमाएको छ । 

वितरणयोग्य मुनाफा
वितरणयोग्य मुनाफा हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा नवील बैंकले सुधार गरेको देखिन्छ । यो बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ३७ करोड मात्र थियो । तर, त्यसबेला बंगलादेश बैंकलाई गाभिसकेको थिएन । 

वार्षिकीकृत रुपमा हेर्दा नवील बैंकले पहिलो त्रैमासमा १३.३४ प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ । 

ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब  ३२ करोड रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ४५ करोड थियो । पहिलो त्रैमासको आधारमा हेर्दा ग्लोबल आइएमई बैंकले १० प्रतिशत हाराहारीको लाभांश क्षमता बनाएको छ । 

एनआइसी एशिया बैंकको वितरणयोग्य मुनाफा भने ९८ करोड बढीले नेगेटिभ बनेको छ । 

सञ्चालन नाफा
नवील बैंक
को सञ्चालन मुनाफा २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब २३ करोड बढी रहेको थियो । 

ग्लोबल आइएमई बैंकले भने अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा सञ्चालन मुनाफा बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ रहेको यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब ७९ करोड माथि पुगेको छ । 

एनआइसी एशियाको खूद सञ्चालन मुनाफामा भने निकै ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा यो बैंकको सञ्चालन मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । 

खूद ब्याज आम्दानी
पहिलो त्रैमासमा नवील बैंकले व्यापक रुपमा व्यवसाय विस्तार गरेको देखिन्छ । यहीकारण बैंकको खूद ब्याज आम्दानी ४ अर्ब १७ करोड माथि पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडमा सीमित थियो । 

ग्लोबल आइएमई बैंकले पनि व्यवसाय विस्तारमा उल्लेख्य प्रगति गरेको देखिन्छ । फलस्वरुप बैंकले पहिलो त्रैमासमा ४ अर्ब ८० करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब २० करोडमा सीमित थियो । 

एनआइसी एशियाले व्यवसाय विस्तारमा समेत निकै ठूलो धक्का व्यहोरेको देखिन्छ । यहीकारण खूद ब्याज आम्दानीमा पनि गम्भीर धक्का लागेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ अर्ब ३३ करोड खूद ब्याज आम्दानी रहेकोमा घटेर यो वर्षको सोही अवधिमा २ अर्ब ७४ करोडमा सीमित बन्न पुगेको छ । 

निक्षेप र कर्जा
समीक्षा अवधिसम्म नवील बैंकले ४ खर्ब  १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब बढी कर्जा परिचालन गरेको थियो। 

ग्लोबल आईएमई बैंकले समीक्षा अवधिसम्म ४ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४ खर्ब २६ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

एनआइसी एशिया बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ११ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेको थियो । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी
सेयर बजारका लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नुअघि हेर्ने एउटा महत्वपूर्ण सूचक हो प्रतिसेयर आम्दानी  । 

यी तीनवटै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । एनआइसी एशियाको इपीएसमा भने निकै ठूलो धक्का लागेको देखिन्छ । 

समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.७१ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा २० रुपैयाँ रहेको थियो । 

नवील बैंकको २१.३१ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २७.०१ रुपैयाँ रहेको थियो । 

एनआइसी एशिया बैंकको अघिल्लो वर्षको इपीएस ५९.६२ रुपैयाँ रहेको थियो । यो वर्ष २६.५८ रुपैयाँ रहेको छ । 

खराब कर्जाको अनुपात
एनआइसी एशिया बैंकको खराब कर्जाको अनुपात ह्वात्तै बढेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ०.५९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष १.३७ प्रतिशतको उचाईमा पुगेको छ।

नवील बैंकको समीक्षा अवधिमा  खराब कर्जाको अनुपात बढेर १.५८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १.०४ प्रतिशत रहेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म २.१० प्रतिशत रहेको ग्लोबल आइएमई बैंकको खराब कर्जा अनुपात भने बढेर ४.३८ प्रतिशत पुगेको छ । 

प्रतिसेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात
सेयरमा लगानी गर्न चाहनेका लागि अन्य महत्वपूर्ण सूचक हुन् प्रतिसेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात । 

नवील बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा र प्रतिसेयर नेटवर्थ  २१८.२७ रुपैयाँ रहेको छ । 

एनआइसी एशिया बैंकको १९.४६ गुणा मूल्य आम्दानी अनुपात रहेको छ भने  प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ । 

ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा तथा प्रतिसेयर नेटवर्थ १६८.३० रुपैयाँ रहेको छ । 

मूल्य आम्दानी अनुपातको हिसाबले यी तीन बैंकमध्ये लगानीका लागि उपयुक्त ग्लोबल आइएमई बैंक देखिएको छ।