दक्षिण भारतको तमिलनाडु राज्यका सातवटा गाउँमा सयौँ मानिसले एक किसिमको कमिलाले आतङ्क सिर्जना गरेको बताएका छन्।
ती कमिलाले पशुचौपायालाई आक्रमण गरेको अनि अन्नबालीमा क्षति पुर्याएको उनीहरूको गुनासो छ। कमिलाका कारण आफ्नो जीविकोपार्जन जोखिममा परेको उनीहरू बताउँछन्।
'पहेँलो बहुला कमिला'लाई विश्वकै सबैभन्दा खराब अतिक्रमणकारी प्रजाति मान्ने गरिएको इन्टरन्याश्नल यूनिअन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले जनाएको छ।
ती कमिलाले टोक्ने वा चिल्ने नगरे पनि तिनले आफ्नो शरीरबाट निष्कासन हुने फर्मिक एसिड छरेर रासायनिक प्रतिक्रिया गराउन सक्छन्।
यी कमिलाको वैज्ञानिक नाम एनोप्लोलेपिस ग्रासिलिप्स हो। यी कमिला साधरणतया उष्ण र अर्धोष्ण बस्छन्।
यी कमिला संयोजित रूपमा नभई जथाभाबी हिँडडुल गर्छन्। कुनै अवरोध देखा परेको खण्डमा तिनको गतिविधि अझै अव्यवस्थित बन्छ।
विज्ञहरूले यी कमिलाको सङ्ख्या चाँडै बढ्न सक्ने र यिनले "रैथाने वन्यजीवलाई ठूलो क्षति गराउन सक्ने" बताएका छन्।
अस्ट्रेलियाका धेरै ठाउँमा यी कमिलाले अतिक्रमण गरेको विवरण आएको छ।
पहेँलो बहुला कमिलाका बारेमा अध्ययन गरेका कीटशास्त्री डा. प्रणय वैद्यले ती "अवसरवादी प्रजाति" भएको बताए।
"उनीहरूलाई यो वा त्यो नै खानुपर्छ भन्ने छैन। उनीहरू जुनसुकै र सबै कुरा खाइदिन्छन्," उनले भने। उनका अनुसार तिनले अरू प्रजातिका कमिला, मौरी र बारुलाको पनि सिकार गर्छन्।
अहिले प्रभावित भएका तमिलनाडुका गाउँहरू डिन्डिगुल जिल्लाको करन्तामलाई जङ्गलनजिकैका पहाडी क्षेत्रमा छन्।
त्यहाँका धेरै मानिसहरू खेतीपाती गर्छन् र पशुचौपाया पाल्छन्।
पचपन्न वर्षीय किसान सेलेभाम भन्छन्, "हामी जङ्गलनजिकै जानेबित्तिकै कमिला हामीमाथि चढ्छन्। त्यसले चिलाउने र फोका उठ्ने हुन्छ। हामी पिउने पानी पनि लिएर जान सक्दैनौँ किनभने उनीहरूले त्यसलाई घेरिहाल्छन्। के गर्ने हामीलाई थाहा छैन।"
गाउँलेहरूले बीबीसी तमिललाई पछिल्ला केही वर्षमा ती कमिला जङ्गलमा देखा पर्न थालेको बताएका छन्।
तर यसरी यति ठूलो सङ्ख्यामा कमिला गाउँ नै पसेको यो पहिलो पटक भएको बताइएको छ।
जङ्गलनजिकै बसोबास गरेका गोठालाहरूले कमिलाकै कारण बस्ती नै खाली गरिदिएको बताएका छन्।
"मेरो घरभरि नै कमिला आएपछि म त्यो ठाउँ छाडेर गाउँ आएँ। हामीले कमिला नियन्त्रण गर्न सकेनौँ। तिनको सङ्ख्या बढेकोबढ्यै थियो," कमिलाले आफ्ना बाख्रालाई पनि आक्रमण भएको बताउने नागम्मलले भने।
स्थानीय वन अधिकारी प्रभुले बीबीसी तमिलसँग कुरा गर्दै आफूले विस्तृत अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने आदेश दिएको बताएका छन्।
उनले प्रतिवेदन आएपछि मात्रै आफूले प्रतिक्रिया दिन सक्ने बताए।
एकजना सरकारी पशुनिर्देशक डा. सिङ्गमुथुले ती कमिलाहरू "साधारण खालका कमिलाजस्तै देखिने" बताए।
उनी भन्छन्, "हामीलाई ती कमिला किन फैलिरहेका छन् भन्ने थाहा छैन। हामी तिनलाई कसरी नियन्त्रणमा लिने भन्न सक्दैनौँ। हामी मानिसहरू र चौपायाहरूले समस्या भोग्नुको कारण यही नै हो भनेर किटेर भन्न सक्दैनौँ।"
उनले गाउँलेहरूलाई आफ्ना पशु चराउन जङ्गलमा नलैजान भनिएको बताए।
सर्प पनि कमिलाको सिकार
गाउँलेहरूले आफ्ना चौपायाबाहेक सर्प र खरायो समेत यी कमिलाको आक्रमणमा परेर मारिएको बताएका छन्।
डा. वैद्य ती कमिलाहरूले छर्किने फर्मिक एसिडका कारण जनावरहरूको आँखामा असर पर्न सक्ने बताउँछन्। उनले थपे, "तर यिनले विशेषगरी आँखालाई नै तारो बनाउँछन् भनेर कतै पनि अभिलेख गरिएको गरिएको छैन।"
मानिसहरूमा एसिडले एलर्जी गराउन सक्ने भए पनि त्यसबाट ज्यानको जोखिम नहुने उनले बताए।
विज्ञहरूले ती कमिलाका कारण उक्त क्षेत्रको पारस्थितिक प्रणाली प्रभावित हुन सक्ने जनाएका छन्।
पहेँलो बहुला कमिला कति खतरनाक ?
यी कमिलाले अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डमा सुरुमा अतिक्रमण गर्दा त्यहाँबाट रैथाने कमिलाहरू विस्थापित भएको डा .वैद्य बताउँछन्।
उनका अनुसार पहेँला बहुला कमिलाले अरू कमिलालाई आक्रमण गरेको र तिनको आहाराको स्रोतमा नियन्त्रण कायम गरेका थिए।
उनीहरूले दशौँ लाख राता गँगटालाई मार्ने क्रममा तिनका आँखा फुटाउनुका साथै अङ्गभङ्ग गरिदिएका थिए।
एउटा संरक्षण समूहसँग काम गरिरहेका कीटविज्ञ डा. प्रियदर्शन धर्मराजनले बाली नष्ट पार्न सक्ने लाईकीरासँग उनीहरूको सहजीवी सम्बन्ध रहेको बताए।
उनी भन्छन्, "लाईले निकाल्ने दूधजस्तो पदार्थ यी कमिलाले खान्छन्, लाईकीरा बालीका लागि राम्रो होइन।"
डा. धर्मराजन निरन्तर बढिरहेको तापक्रमका कारण अहिले अवस्था बिग्रिएको ठान्छन्।
"जब तापक्रम बढ्छ उनीहरूको मेटाबोलिक रेट [पौष्टिक तत्त्व अन्तर्दहन गर्ने दर ] पनि बढ्छ जसले गर्दा उनीहरूले धेरै खान्छन्। यो एउटा कारण हुनसक्छ," उनले भने।
तर तथ्याङ्कबिना यसलाई पुष्टि गर्न नसकिने उनले बताएका छन्।
प्रभावित क्षेत्रको मौसम प्रणालीबारे थप तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिनुपर्नेमा उनको जोड छ।
-BBC
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19