काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि राष्ट्रबैंकले ५ दिनको अवधिमा बित्तीय बजारमा २५ अर्ब रुपैयाँ प्रवाह गरिसकेको छ । तर २५ अर्ब रुपैयाँ तरलताले समेत समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न नसकेपछि नेपाल राष्ट्रबैंकले आगामी आइतबार पुनः१० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ । 

केन्द्रीय बैंकले आइतबार, बुधबार र बिहीबार गरी कुल २५ अर्ब रुपैयाँ बराबरको तरला बित्तीय बजारमा प्रवाह गरिसकेको छ । 

तीनपटक गरी २५ अर्ब बराबरको सरकारी ऋणपत्र सोझै खरिदका लागि दरखास्त आह्वान गरिएकोमा अचाक्ली आवेदन परेपछि त्यसलाई सम्बोधन गर्न भन्दै केन्द्रीय बैंकले थप १० अर्ब बजारमा पठाउन लागेको हो । 

तरलताको उच्च मागको यही अवस्थालाई सम्बोधन गर्न राष्ट्रबैंकले पुस २३ गते पुनः १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सोझै खरीदका लागि बोलकबोलको सूचना जारी गरेको हो । 

यो रकम बजारमा गएपछि उच्च दरले बढिरहेको ब्याजदरमा स्थिरता आउने र बजारको आत्मबल बढ्ने अपेक्षा गरिएको केन्द्रीय बैंकका अधिकारीहरुले दाबी गरेका छन् ।

बैंक तथा बित्तीय संस्थाका सीइओहरुले भने ऋणपत्रमार्फत रकम प्रवाह गरेर मात्र समस्याको दीर्घकालीन समाधान नहुने बताउँछन्। उनीहरु कर्जा पुँजी निक्षेपको अनुपात सीसीडीसम्बन्धी विद्यमान व्यस्थामा नै परिवर्तनको माग गरिरहेका छन्। एक बैंकरले भने–‘हामीले खोजेको लगानीयोग्य तरलता हो ।’

कुन दिन कति आवेदन ?
केन्द्रीय बैंकस्थित स्रोतका अनुसार बिहीबार १८ बैंक तथा वित्तीय संस्थाले १४ अर्ब १४ करोड ४४ लाख रुपैयाँ माग गरेकोमा १३ संस्थाले ७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ मात्र पाएका छन् । लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाउदा २३ बैंक तथा वित्तीय संस्थाले झण्डै २३ अर्ब रुपैयाँ मागेका थिए, जसमध्ये १३ बैंक तथा बित्तीय संस्थाले १० अर्ब लगे ।

आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँको माग भएको थियो । 

राष्ट्र बैंककाअनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४७ अर्ब रुपैयाँ अधिक तरलता छ ।