काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २७ गते) ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोलबाट बिक्री गर्दैछ । १३ वर्षे अवधिको “विकास ऋणपत्र २०८७ क” म्याद २०८७ भदौ २८ गते सकिनेछ । 

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसका लागि भदौ २७ गते ३ बजेसम्म बोलकबोलको समय तोकिएको छ । 

ऋणपत्रमध्ये ८० प्रतिशत प्रतिस्पर्धी र २० प्रतिशत अप्रतिस्पर्धी बोलवालाहरुका लागि छुट्याइएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धी समूहबाट मात्र आवेदन दिन पाउनेछन् ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था गरिएको छ । 

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक हुने गरी आवेदन दिन सक्नेछन् । प्रतिस्पर्धी बोलकवोलवालाले कबोल गरेको ब्याजदरबाट औसत ब्याजदर निर्धारण गर्ने र सोही ब्याजदर कम कबोल गर्ने र अप्रतिस्पर्धी समूहलाई समेत लागू हुने व्यवस्था गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

अर्धवार्षिक रूपमा ब्याज लिन सकिने ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से) मार्फत दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । सरकारले चालू आर्थिक वर्षको बजेटमा भएको घोषणाअनुसार राष्ट्र बैंकले जारी गर्न लागेको यो तेश्रो ऋणपत्र हो । 

सरकारले चालू आवमा ७२ अर्ब बराबर आन्तरिक ऋण विकास ऋणपत्रमार्फत उठाउने लक्ष्य राखेको छ । जसका लागि ५ वर्षदेखि १५ वर्ष अवधिसम्मको ऋणपत्र जारी गर्ने कार्यतालिका राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

के हो विकास ऋणपत्र ?
विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।

सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु यो ऋणपत्रको उद्देश्य रहेको छ । विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (डच बोलकबोल प्रक्रिया) प्रयोग गरिन्छ । विकास ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नु पर्दछ । एकै व्यक्ति वा संस्थालेअलग–अलग वा बहु–ब्याजदरमा पनि बोल गर्न सकिन्छ । बोलकबोलको माध्यम विकास ऋणपत्रका लागि अनलाइन बिडीङ प्रणालीको माध्यमबाट बोलकबोल गर्नुपर्दछ । विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । विकास ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (नेप्से) मार्फत मात्र हुने व्यवस्था रहेको छ । विकास ऋणपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ ।