motocycle parking, photo : photopatrakarita.com
काठमाण्डौ । राजधानीको पुतलीसडकस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमा काम परेर मंगलबार पुगेका अनामनगर डेरा गरी बस्ने झापाका शम्भु उप्रेतीले त्यहाँको पार्किङस्थलमा मोटरसाइकल पार्क गरे । बैंककै पार्किङस्थल भएको र त्यहाँ बैंकबाट खटाइएका सुरक्षागार्ड समेत तैनाथ भएकोले उनले ढुक्कले काम सके र २ घण्टापछि पार्किङ स्थलमा पुगे । त्यहाँबाट हिँड्नै लाग्दा बैंकका सुरक्षागार्डले एउटा चिट थमाए र दुईघण्टाको पार्किङ शुल्क भन्दै ५० रुपैयाँ दिन आग्रह गरे । बैंकको सेवाग्राही भएको नाताले बैंकमै काम गर्न आउँदा बैंककै पार्किङमा मोटरसाइकल राखेको पैसा किन तिर्नुपर्ने भन्ने उनले प्रश्न गरे । जवाफमा ती सुरक्षा गार्डले भने–‘तपाई सेवाग्राही हो या होइन प्रमाणसहित बैंकमा पुग्नुहोस्, त्यहाँबाट लेखेर ल्याएपछि मात्र पार्किङ शुल्क छुट गर्न मिल्छ ।’ ५० रुपैयाँ पार्किङ शुल्कका लागि फेरि बैंकमा जान, त्यहाँबाट लेखेर ल्याउन उनका लागि झञ्झट मात्र थियो । बैंकको लुटधन्दाको कुरा बुझेपछि उनी ५० रुपैयाँ दिए र घरतर्फ लागे ।
‘ठूला र धेरै कमाउने बैंकहरुले सेवाग्राहीलाई सुविधा दिनका साटो यो वा त्यो नाममा लुट्दा रहेछन् ।’ शम्भूले बिजशालासँग प्रमाण पेश गर्दै भने–‘इन्भेष्टमेन्ट बैंकले पार्किङ शुल्कको नाममा समेत सर्वसाधारणबाट रकम असूलेको देख्दा लाज लागेर आयो ।’
इजाजत लिएर पार्किङ संचालन गर्नेको हकमा समेत महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ । पार्किङ संचालनको अनुमति लिएकाहरुले समेत यो भन्दा धेरै दररेट असूल्नु गैरकानूनी असूली हो ।
उनी मात्र होइन, पुतलीसडकस्थित इन्भेष्टमेन्ट बैंक गएका अधिकांश सेवाग्राही बैंकका सुरक्षागार्डबाट लुटिने गरेका छन् । कसैलाई पार्किङ शुल्क लिएको रसिद दिइन्छ भने कतिपयलाई दिइनन । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआइबिएल पार्किङ एट पुतली सडक’ नामको रसिद नै बनाएर सर्वसाधारणबाट गैरकानूनी ढंगले रकम असूल्ने गरेको छ । रसिदमा मोटरसाइकलको प्रति घण्टा २५ रुपैयाँ र कार तथा जीपको प्रतिघण्टा ५० रुपैयाँ शुल्क लाग्ने प्रष्ट लेखिएको छ । यो दर पनि औधी महंगो र काठमाण्डौ महानगरपालिकाको नियमविपरीतको असूली हो । रसिदमा यस बैंकको कारोबार गर्न आउने ग्राहकका लागि मात्र निःशुल्क भनिएको छ, तर सँगै कारोबार गरिसकेपछि सम्बन्धित विभागबाट छाप लगाएर ल्याउनुपर्ने भनिएको छ । २५ रुपैयाँ वा ५० रुपैयाँका लागि सम्बन्धित विभागमा छाप लगाउने झञ्झट कसैले स्वीकार्दैन र बैंकका लागि पैसा चढाएर हिँड्नुपर्ने बाध्यता रहेको पीडित सेवाग्राही बताउँछन् ।
इन्भेष्टमेन्ट बैंकले पार्किङ शुल्कको नाममा गैरकानूनी असूलीको धन्दा संचालन गरेको प्रमाण ।
..............................................................................................................................
पैसा गैरकानूनी ढंगले असूले पनि बैंकको निजी पार्किङमा समेत सेवाग्राहीको सवारी साधनको सुरक्षामा बैंक पन्छिएको छ । ‘नोट’ शीर्षकको ३ नम्बर बुँदा आफ्नो साधनको जिम्मा स्वयम् आफैं लिनुपर्नेछ लेखिएको छ । ‘आफैं जिम्मा लिने हो भने फेरि उनीहरुलाई किन महंगो रकम किन पार्किंग शुल्कको रुपमा तिर्नुपर्ने ?’ शम्भुले भने–‘महानगरपालिकाले काठमाण्डौका यस्ता धेरै ठाउँका पार्किङमा भइरहेको लुटको बिषयमा खोजबिन गरोस् ।’
नेपाल इन्भेष्टमेन्ट बैंक मात्र होइन, ठमेलमा आफ्नो पार्किङ संचालन गरेको हिमालयन बैंक त आफ्नै सेवाग्राहीहरुबाट समेत पार्किङ शुल्क असूल्छ । त्यहाँ कर्मचारीहरु नै परिचालन गरी बैंकको काममा गएका सेवाग्राहीबाट पार्किङ शुल्क असूलिन्छ । त्यहाँको पार्किङ शुल्क चाहि दुई पांग्रे सवारीका लागि प्रति घण्टा १५ र चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ तोकिएको छ, यो दररेट समेत पूर्ण रुपमा गैरकानूनी हो । सो पार्किङमा समेत शुल्क असूल्ने बैंकले सवारी साधन, बाइकको हेल्मेट हराएमा आफू जिम्मेवार नहुने भन्ने व्यहोरोको कुपन दिने गरेको छ ।
हिमालयन बैंकले पार्किङ शुल्कको नाममा गैरकानूनी असूलीको धन्दा संचालन गरेको प्रमाण ।
................................................................................................................................
‘सर्वसाधारणको सेवाका लागि खुलेका बैंकहरुले पार्किङ स्थल समेत निःशुल्क गराउन नसक्नु हेर्दा सानो लाग्ने ठूलो लुट हो ।’ हिमालयन बैंकका एक सेवाग्राहीले भने–‘ठूला र धेरै नाफा कमाउने बैंकहरुले आफ्ना सेवाग्राहीलाई समेत पार्किङ शुल्क असूल्न लुट हो । कुनै बैंकमा कुनै बेला ३–४ घण्टासम्म काम पर्छ ।’ यस्तो अवस्थामा नास्ता खाने पैसा पार्किङको रुपमा बुझाएर हिँड्नुपर्ने बाध्यता रहेको पीडित बताउँछन ।
केही लोभी र गैरजिम्मेवार बैंकले पार्किङ शुल्कको रुपमा सर्वसाधारण सेवाग्राहीमा असूली धन्दा संचालन गरे पनि राजधानीका अधिकांश बैंक तथा बित्तीय संस्थाको निजी पार्किङ निःशुल्क छ । जस्तो एनएमबी बैंक, सेञ्चुरी बैंक, प्रभू बैंक, भिबोर विकास बैंक, कैलाश विकास बैंक लगायतमा पार्किङ शुल्क तिर्नुपर्दैन ।
आर्थिक वर्ष २०७२/७३ मा नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५९ करोड र हिमालयन बैंकले १ अर्ब ९१ करोड खूद नाफा आर्जन गरेका थिए । यति धेरै नाफा कमाउने बैंकहरुले आफ्ना सेवाग्राहीलाई पार्किङ सुविधा पनि नदिनु र उल्टो गैरकानूनी असूलीको धन्दा संचालन गर्नु निकै लाजमर्दो विषय भएको जानकार बताउँछन् ।
इन्भेष्टेमन्ट बैंक र हिमालयन बैंकको हकमा उनीहरुले पार्किङ स्थल संचालनका लागि अनुमति नलिएका, आधिकारिक बिल समेत प्रयोग नगरेका, पार्किङबापत संकलन हुने रकमबाट कर नतिरिएको र काठमाण्डौ महानगरपालिकाको रेट भन्दा औधी असूलेर गैरकानूनी धन्दा संचालन गरिरहेका पाइएको छ ।
के भन्छ महानगरपालिका ?
काठमाण्डौ महानगरपालिकाका संचार अधिकृत महेश काफ्लेका अनुसार बैंकहरुले बिना इजाजत पार्किङ स्थल संचालन गर्नु नै गैरकानूनी काम हो । ‘इजाजत लिएर पार्किङ संचालन गर्नेको हकमा समेत महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ ।’ उनले भने–‘पार्किङ संचालनको अनुमति लिएकाहरुले समेत यो भन्दा धेरै दररेट असूल्नु गैरकानूनी असूली हो ।’
उनका अनुसार घर निर्माणका लागि घरनक्सा पास गर्नु परे झै काठमाण्डौ महानगरपालिकाभित्र पार्किङ संचालन गर्दा पार्किङस्थलको नक्सा पास गर्नु अनिवार्य हुन्छ । नक्सापास भएपछि सम्बन्धित निकायबाट पार्किङको स्वीकृति प्रदान गरिन्छ । त्यसपछि आधिकारिक बिलहरु छापेर पार्किङ शुल्क उठाउन पाइन्छ र उठेको रकमबाट सरकारलाई कर समेत तिर्नुपर्छ । तर इन्भेष्टेमन्ट बैंक र हिमालयन बैंकको हकमा उनीहरुले पार्किङ स्थल संचालनका लागि अनुमति नलिएका, आधिकारिक बिल समेत प्रयोग नगरेका, पार्किङबापत संकलन हुने रकमबाट कर नतिरिएको र काठमाण्डौ महानगरपालिकाको रेट भन्दा औधी असूलेर गैरकानूनी धन्दा संचालन गरिरहेका पाइएको छ ।
‘तपाईंले जानकारी गराउनुभयो, भनेको समयमा अनुगमन गर्न नसक्नु हाम्रो पनि कमजोरी हो ।’ काफ्लेले बिजशालासँग भने–‘हामी शीघ्र अनुगमन गरेर गैरकानूनी पार्किङ शुल्क असूल्नेहरुमाथि कडा कारबाही गर्छौ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago