काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको नाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.४८ प्रतिशतले पहिरो गएको हो । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १६ लाख २३ हजार खूद नाफा आर्जन गरेकोमा यो वर्ष त्यो घटेर १२ लाख ४२ हजारमा सीमित हुन पुगेको हो । 

खूद नाफा घटे पनि व्यवसाय बिस्तारबाट प्राप्त खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष २ करोड २१ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर २ करोड ९४ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा कालिकाले ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी तथा ७२ करोड ८६ लाख बढी सापटी लिएर १ अर्ब ३२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३७ करोड निक्षेप संकलन गरी तथा ६४ करोड बढी सापटी लिई ८९ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ५ करोड ११ लाखमा सीमित रिजर्ब कोषमा ५ करोड ८५ लाख जम्मा भएको छ भने कम्पनीको खराब कर्जा अनुपात भने १.७५ प्रतिशतमै स्थिर रहेको छ । 

यो कम्पनीको संचालन मुनाफामा अझ ठूलो पहिरो गएको देखिएको छ । अघिल्लो वर्ष २२ लाख ५० हजार रहेको संचालन मुनाफा घटेर २ लाख ९० लाखमा सीमित बन्न पुगेको हो । 

नाफा घटेका कारण यो कम्पनीको प्रतिसेयर आम्दानीतर्फ पनि करिब ३७ प्रतिशतको पहिरो गएको छ । अघिल्लो वर्ष यही अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ७.८७ रुपैयाँ रहेकोमा त्यो घटेर यो वर्ष ४.९७ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२६.७६ गुणा कायम भएको छ ।