काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन वैदेशिक साझेदार भित्र्याउने राण्नीतिका साथ अगाडि बढिरहेको छ। 

बीमा प्राधिकरणबाट जारी भएको बीमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ अनुसार असार मसान्त सम्ममा न्यूनतम चुक्तापुँजी साढे २ अर्ब कायम गर्नुपर्ने थियो। तर, प्रभु इन्स्योरेन्सले तोकिएको समयसम्म न्यूनतम चुक्तापुँजी पुर्याउन सकेन।

अहिले प्रभु इन्स्योरेन्स वैदेशिक रणनीतिक साझेदार भित्र्याएर पुँजी वृद्धि योजनामा रहेको छ। ‘कम्पनी सञ्चालक समितिको गत असार २७ गते बसेको बैठकले सकभर वैदेशिक रणनीतिक साझेदार भित्र्याउने कोसिस गर्ने निर्णय गरेको छ’, कम्पनीका एक सञ्चालकले भने, ‘प्रयास गर्दागर्दै पनि भित्र्याउन सकिएन भने हकप्रदको बाटो रोज्ने निर्णय भएको छ।’

कम्पनीले विदेशी कम्पनीहरुसँग समन्वय गरी वैदेशिक रणनीतिक साझेदार ल्याउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ। ‘तर, अन्तिम निर्णय भइसकेको छैन’, ती सञ्चालकले भने। 

वैदेशिक साझेदार भित्र्याउने योजना सफल नभएमा कम्पनीले हाल कायम चुक्तापुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। ‘कम्पनीले न्यूनतम चुक्तापुँजी साढे २ अर्ब कायम गर्नका लागि अझै पनि विदेशी साझेदार भित्र्याउने प्रयास जारी नै राख्ने भएको छ’, ती सञ्चालकले भने, ‘कथंकदाचित सो सम्भव नभए नपुग रकमबराबरको हकप्रद सेयर जारी गर्ने निर्णय भएको छ।’

कम्पनीको हाल चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। सञ्चालक समितिबाट ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भए पनि कम्पनीको पुँजी प्राधिकरणले तोकेभन्दा अझै अपुग देखिन्छ। त्यसैले कम्पनीले हकप्रदपछि पनि बोनस सेयर जारी गरेमा मात्रै तोकिएको पुँजी पुर्याउन सक्ने देखिन्छ।