– मनिष सोती
काठमाण्डौ । प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्सले तोकिएको समयसीमासम्म पुँजी वृद्धिका लागि कुनै पहल नगरेको पाइएको छ।
नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। अधिकांश बीमा कम्पनीले पुँजी वृद्धिका लागि योजना पेस गरिसकेका छन्। तर, प्रभु र नेपाल इन्स्योरेन्सले भने पुँजी वृद्धिका लागि खासै पहल नगरिरहेको प्राधिकरणले नै जनाएको छ।
पुँजी वृद्धिमा अटेर गरिरहेका ती बीमा कम्पनीहरुमाथि प्राधिकरणले तत्काल कारबाही प्रक्रिया अघि भने नबढाउने भएको छ। ‘पुँजी वृद्धि नगरेका ती कम्पनीमाथि कारबाही गरिहाल्ने योजना अहिले छैन’, प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पराजुलीले भने।
बीमा प्राधिकरणले पुँजी बढाउन प्रयास गर्ने कम्पनीलाई हकप्रदको बाटोसमेत खुलाउने भएको छ। मर्जरमा गई वा अन्य माध्यमबाट पुँजी पुर्याउन प्रयास गरेका कम्पनीलाई अपुग पुँजीबराबरको हकप्रद जारी गर्न दिने प्रवक्ता पौडेलले बताए। ‘असार मसान्तसम्म पुँजी वृद्धि गर्न योजना पेस गरेका कम्पनीलाई मात्रै हकप्रद निष्कासन गर्न दिनेछौँ’, पौडेलले भने, ‘न्यूनतम चुक्तापुँजी वृद्धिमा अटेर गर्ने प्रभु र नेपाल इन्स्योेरेन्सलाई अवश्य कारबाही हुन्छ तर तत्काल कसरी र के कुरामा कारबाही गर्ने भन्ने प्रक्रिया अघि बढेको छैन।’
प्रभु इन्स्योरेन्सले प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन यसअघि साबिक अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको थियो। प्रभु र अजोडबीच स्वाप रेसियो, नाम र सञ्चालकको विषयमा सहमति नहुँदा दुईबीचको मर्जर भाँडिएको थियो।
त्यस्तै यो कम्पनीले वैदेशिक रणनीतिक साझेदार भित्र्याएर पुँजी वृद्धि गर्ने योजना बनाएको थियो। तर, सोसम्बन्धी योजनाका प्रस्तावहरु प्राधिकरणमा पेस नगरेको प्रवक्ता पौडेलले बताए।
प्रभु इन्स्योरेन्सका एक सञ्चालकले विदेशी लगानी भित्र्याउन नसकेमा हकप्रदको बाटो रोज्ने बताएका थिए। सोहीबमोजिम कम्पनीले नेप्सेलाई छलेर हकप्रद सेयरसम्बन्धी प्रस्ताव बीमा प्राधिकरणमा लगेपछि नेप्सेले कारबाही पनि गरेको थियो।
प्रभु इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ। कम्पनीलाई न्यूनतम पुँजी पुर्याउन अझै १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ पुँजी जुटाउन आवश्यक देखिन्छ।
त्यस्तै नेपाल इन्स्योरेन्सले पनि न्यूनतम पुँजी पुर्याउन साबिक आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरका लागि लामो छलफल गरेर पनि टुंगो लगाउन सकेको थिएन। कम्पनीले आफ्नो स्थिर सम्पत्ति बिक्रीमार्फत पुँजी पुर्याउने योजना लिएको छ। कम्पनीले आफ्नो नाममा रहेको जग्गा लिलाममार्फत पुँजी बढाउने प्रस्ताव प्राधिकरणमा पेस गरेको थियो। तर पहिलोपटक जग्गा बिक्रीको सूचना जारी गर्दा कुनै पनि प्रस्ताव पेस नभएको जनाउँदै कम्पनीले दोस्रो पटक पुनः सूचना जारी गर्दै जग्गा बिक्री गर्न लागेको प्रस्ताव प्राधिकरणमा पेस गरेको छ।
हाल नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन १ अर्ब १२ करोड १ लाख रुपैयाँ जुटाउनुपर्ने देखिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19