काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मित्रलाई स्विस बैंकमा ठूलो रकम जम्मा गर्न अनुमति दिने ४ बैंकरलाई नियमसंगत ढंगले उचित छानबिन नगरेकोमा दोषी ठहर गरिएको छ।

‘पुटिनको वालेट’ भनेर चिनिने संगीतकार सर्गेई रोल्डुगिनलाई मद्दत गरेकोमा रुसको गाजप्रोम बैंकको जुरिच शाखाका पूर्वकार्यकारीहरुलाई दोषी ठहर गर्दै ७ महिनाका लागि निलम्बन गरिएको हो। रोल्डुगिनले सन् २०१४ र २०१६ को बीचमा करिब ३० मिलियन पाउन्ड जम्मा गरेको बताइएको छ। पैसा कहाँबाट आयो भन्नेमा उनले कुनै भरपर्दो जबाफ दिएका छैनन्।

यदि खातावाला वा रकमको स्रोतका बारेमा शंका छ भने स्विस कानुनअन्तर्गत बैंकहरुलाई खाता बन्द गर्ने अधिकार छ।

दोषी ठहरिएका बैंकरमध्ये ३ रुसी र १ स्विस नागरिक छन्। स्विस प्रतिबन्धअन्तर्गत उनीहरुको पहिचान खुलासा गरिएको छैन। उनीहरुले स्विस अदालतको फैसलाविरुद्ध अपिल गर्ने पनि बताएका छन्। –एजेन्सी