काठमाण्डौ । संसारको सबैभन्दा धनी व्यक्ति को हुन् ? भन्ने विषयमा बहस सुरु भएको छ।

गत महिना जारी गरिएको फोर्ब्सको सूचीअनुसार एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर अनुमान गरिएको थियो। यसअघि डिसेम्बर २०२१ मा एलोन मस्कको सम्पत्ति करिब २६६ बिलियन डलर भएको अनुमान गरिएको थियो।

सन् २०२१ मा एलन मस्कको सम्पत्ति अत्याधिक बढेको थियो। तर, हालैको एक अन्तर्वार्तामा एलन मस्कले चकित पार्ने बयान दिएका छन्। एलन मस्कले आफूलाई संसारको सबैभन्दा धनी व्यक्ति नठान्ने बताएका छन्। 

बिजनेस इनसाइडरलाई दिएको अन्तर्वार्तामा टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले भने, ‘मेरो विचारमा विश्वको सबैभन्दा धनी व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हुन्। मलाई लाग्छ पुटिन मभन्दा धनी छन्।’ 

एलन मस्कको सनसनीपूर्ण अन्तर्वार्तापछि पुटिनसँग कति सम्पत्ति छ भन्ने बहस सुरु भएको छ। पुटिनको सम्पत्तिको तथ्यांक सार्वजनिक रुपमा उपलब्ध छैन। तर, पुटिनको सम्पत्ति रहस्यमय नै छ।

आधिकारिक रेकर्ड अनुसार भ्लादिमिर पुटिनले वार्षिक १ लाख ४० हजार डलर तलब पाउँछन्। उनीसँग कालो सागर (ब्ल्याक सी) मा १.४ बिलियन डलरको दरबार र ४ अर्ब डलरको मोनाको अपार्टमेन्ट छ। उनसँग ८०० स्क्वायर फिटमा फैलिएको फ्ल्याट छ।

यतिमात्र होइन धेरै मिडिया रिपोर्टमा पुटिनको कुल दुई दर्जन आलिसान महल रहेको दाबी पनि गरिएको छ। यससँगै पुटिनसँग ५८ विमान र हेलिकप्टर, ७०० कार र ३ करोड रुपैयाँसम्मका दर्जनौँ महँगो घडीको संकलन रहेको बताइएको छ। 

हालै अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति भएको बताइन्।

त्यसो त भ्लादिमिर पुटिन विश्वकै शक्तिशाली व्यक्तिहरुमध्ये एक मानिन्छन्। सन् २०१८ मा फोब्र्सले पुटिनलाई अर्बौंको अनुमानित सम्पत्तिका विश्वको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा सूचीबद्ध गरेको थियो। 

युक्रेनमा भएको हमलाका कारण पश्चिमी देशहरुमा पुटिनको आलोचना भइरहेको छ। पछिल्लो एक महिनामा युद्धका कारण रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाइएको छ। यसका बाबजुद पनि युक्रेनमा रुसको आक्रमण जारी छ।

अन्तर्वार्तामा एलन मस्कलाई युक्रेनमा भएको आक्रमणबारे पनि प्रश्न सोधिएको थियो। जबाफमा उनले रुसी राष्ट्रपति पुटिनलाई रोक्नुपर्ने बताएका थिए। 

अमेरिकासहित सबै पश्चिमी देशहरुले रुसविरुद्ध धेरै कडा प्रतिबन्धहरु लगाएका छन्। जसका कारण आगामी दिनमा रुसले आर्थिक चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। –एजेन्सी