काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले पनि १५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने भएको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमा कम्पनीले पनि विस्तारै क्यापिटल प्लान बनाउनुपर्ने बताएका छन्। 

नेपाल बीमा प्राधिकरणसँगको सहकार्यमा आयोजित बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीले पनि पुँजी बृद्धिको योजना बनाउनुपर्नेमा जोड दिए । 

प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । अधिकांश बीमा कम्पनीले पुँजी बृद्धिका लागि प्राधिकरणमा योजना पेश गरेका छन् । 

यता, पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पनि अब पुँजी बढाउनुपर्ने भएको छ । ‘जीवन बीमा कम्पनीको पुँजी २ अर्ब हुँदा रि–इन्स्योरेन्स कम्पनीको पुँजी १० अर्ब थियो, लाइफ इन्स्योरेन्स कम्पनीको पुँजी दुई गुणा बढेर जाँदा पुनर्बीमा कम्पनीको पनि अवश्य पुँजी बढ्दैपर्छ ।’ अध्यक्ष सिलवालले भने, ‘पुनर्बीमा कम्पनीहरुले पनि रिस्क वेसको आधारमा पुँजी बढाउनुपर्ने भएकोले पुँजी बृद्धिको निर्णयमा प्राधिकरण धेरै चाँडो अगाडी पुग्छ ।’ 

साथै जोखिमाङ्कनको आधारमा पुनर्बीमा कम्पनीहरुले १५ अर्ब रुपैयाँ चुक्तापुँजी बढाउनुपर्ने अध्यक्ष सिलवालले बताए । नेपालमा हाल दुईवटा मात्रै पुनर्बीमा कम्पनी रहेका छन् । नेपाल पुनर्बीमा कम्पनीको हाल कायम चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ, भने हिमालयन रि इन्स्योरेन्सको पुँजी ७ अर्ब रुपैयाँ मात्रै रहेको छ ।