काठमाण्डौ । ‘लगानीका लागि ऋण कहिल्यै नलिनुहोस् । आम्दानीभन्दा बढी खर्च गर्ने प्रवृति राम्रो होइन ।’ प्रायः भनिन्छ कि यदि तपाईले यस्ता सरल नियमहरुको पालना गर्नुभयो भने रुपैयाँ–पैसाको विषयमा तपाईले कहिल्यै पनि कुनै मुश्किलमा फस्नुपर्ने छैन ।

फाइनान्सियल प्लानिङ(वित्तीय योजना)को मामलामा समेत यी नियम रणनीति बनाउन उपयोगी मानिन्छन् । तर, विश्वका फाइनान्सियल प्लानर्स(वित्तीय योजनाकार)हरुले पछिल्लो केही वर्षहरुमा आएका परिवर्तनहरुले हामीले मान्दै आएका कैयन चर्चित नियमहरुलाई समेत असान्दर्भिक बनाइदिएका छन् । 

उदाहरणका लागि २५ वर्षको वित्तीय योजना बनाएर अगाडि बढ्ने कुरा अहिले पनि धेरै उपयोगी नै मानिन्छ । तर, समय–समयमा यसमा संसोधन र परिवर्तन गर्नुपर्छ र परिवर्तित यथार्थअनुसार यसलाई रुपान्तरण गर्नुपर्ने हुन्छ। 

हामीले यहाँ केही विदेशी विज्ञ र स्वदेशी विज्ञहरुको विभिन्न खोज र रिसर्चलाई आधार बनाएर यस्तै केही नियमहरु तयार गरेका छौं, जसलाई परिवर्तन भइसकेको वित्तीय परिदृश्यको हिसाबबाट परिवर्तन गर्न आवश्यक हुन्छ । हामीले ती परिवर्तनहरुको कारण पनि यो लेखमा बताउने प्रयास गर्नेछौ । 

१. पुरानो नियम: तलबको १० प्रतिशत हिस्सा रिटायरमेन्टका लागि जोगाउनुहोस्
नयाँ सल्लाह: बचत दरलाई बढाएर २० प्रतिशत पुर्याउनुहोस्
कुनै जमाना यस्तो पनि थियो, जुन समय मानिसको मासिक आम्दानीको १० प्रतिशत हिस्सा मात्रै नियमित बचत गर्दा पनि रिटायरमेन्टपछिको आरामदायी जीवनका लागि काफी मानिन्थ्यो । न्यून महङ्गीवाला त्यो समय अब सायदै फर्केर आउँछ । यदि तपाई आज पनि त्यही १० प्रतिशतवाला नियममै टाँसिएर बस्नुभएको छ भने तपाईको रिटायरमेन्ट लाइफ सोचेजस्तो राम्रो र सहज हुनेछैन । 

तपाईले बचाएको रकमले बढ्दो क्रममा रहेको दैनिक जीवनको खर्च र बढ्दो महङ्गीलाई टार्नै सक्दैन । अप्टिमा मनी म्यानेजर्सका संस्थापक पकञ्ज मथपालले आफ्नो एक आर्टिकलमा भनेका छन्–‘जीवनको खर्च दर बढिरहेको छ । बढ्दो खर्चअनुसार सुखी जीवन रिटायरमेन्टपछि जिउनका लागि पनि अब मासिक आम्दानीको २० प्रतिशत अनिवार्य रुपमा जोगाउनुपर्ने बेला भइसकेको छ ।’ 

कतिपय लगानीकर्ताहरुले यही तर्कलाई आत्मासाथ गरी आफ्नो नियमित आम्दानीको २० प्रतिशत इक्वीटी फण्डमा लगाउन समेत थालिसकेका रिसर्चरहरुको दाबी छ । यो लगानी विशुद्ध रुपमा रिटायरमेन्टपछिकै लागि मात्र हो । पछि पछुताउनुभन्दा आजैदेखि बूढेसकालका लागि राम्रो बचत गर्नेतर्फ लाग्नुहोस् ।

२. पुरानो नियम: १०० बाट आफ्नो उमेर घटाउँदा जुन आँकडा आउँछ, त्यति नै प्रतिशत इक्वीटीमा लगाउनुहोस्
नयाँ सल्लाह: ११० देखि १२० मा आफ्नो उमेर घटाउँदा जुन आँकडा आउँछ, त्यति नै प्रतिशत इक्वीटीमा लगानी गर्नुहोस्
वित्तीय जानकार र योजनाकारहरुको जिकिर छ कि ‘१०० माइनस एज रुल’ अब बेकार भइसकेको छ । किनभने मानिसहरुको जिन्दगी अब पहिलाभन्दा लामो बन्दैछ । मान्छेको मृत्युदर घटी औसत उमेर बढिरहेको छ । रिटायरमेन्टपछिको १५–२० वर्षका लागिको साटो अब मानिसहरुले २०–२५ वर्षको अवधिलाई ध्यानमा राखेर बचत गर्नुपर्ने हुन्छ । यसको मतलब यो हो कि इक्वीटीमा छुट्याउने रकमको हिस्सा समेत बढी हुन आवश्यक छ । खासगरी युवाहरुले यो विषयमा विशेष ध्यान दिनुपर्छ । 

यो नियमअनुसार युवा अवस्थादेखि नै बचत गर्न थाल्नेहरुको संख्या समेत बढिरहेको रिसर्चमा दाबी गरिएको छ । यसरी पर्याप्त बचत तथा लगानी गर्नेहरुले आफ्ना बालबच्चाको उच्च शिक्षाका लागि समेत बेलैदेखि बचत थालेको बताएका छन् । किनभने २५ देखि ३० वर्ष उमेर समूहका यस्ता युवाहरुको साथमा आफ्नो वित्तीय लक्ष्य पूरा गर्न पर्याप्त समय हुन्छ ।

रिसर्चमा योगदान दिएका मनि म्याटर्सका संस्थापक सीइओ तेजल गान्धीले भनेका छन्–‘लगानी गर्नलायक सरप्लसबाट पैसा अलग गरी २५–३५ वर्ष समूहकाले इक्वीटी तथा डेट एलोकेसन रेसियो ८५ः९० अनुपात १० को राख्नुपर्छ । साथै उनीहरुले बजारको गतिविधिलाई समेत नजिकबाट नियाल्नुपर्छ र प्रत्येक ६ महिनामा आफ्नो लगानी पोर्टफोलियोको पुनरसंरचना गर्नुपर्छ, ताकि उनीहरुको एसेट एलोकेशन दुरुस्त बनिरहोस् । यस्तै, ३५–४५ उमेर समूहका मानिसले इक्वीटी र डेटबीचको एलोकेसन अनुपात ७५ः२५ प्रतिशत बनाउन सक्छन् । 

यस्तै, रिटायरमेन्ट नजिक पुग्नेहरुले भने केही आक्रामक नीति लिनुपर्छ । ६० वर्षपछि जोखिम बहन गर्नसक्ने क्षमताका आधारमा इक्वीटीको एलोकेसन २५ः४० को अनुपातमा गर्नुपर्ने हुन्छ । 

इक्वीटी जोखिमपूर्ण सम्पत्ति हो, जसमा सावधानीपूर्वक पैसा लगाउनुपर्छ । आफ्नो क्षमतालाई राम्रोसँग आँकलन गरेर मात्र यो वित्तीय औजारमा लगानी गर्न सकिन्छ ।

३. पुरानो नियम: अत्यावश्यक, बचत र घुमफिर तथा रमाइलोका लागि ५०–२०–३० को बजेटिङ रुल फलो गर्नुपर्छ
नयाँ सल्लाह: आफ्नो आम्दानीको कमसेकम ३० प्रतिशत हिस्सा अनिवार्य बचाउनुहोस्
५०–२०–३० को बजेटिङ रुलले भन्छ कि कर तिरेपछि तपाईको जुन मासिक आम्दानी हुन्छ, त्यसमध्ये ५० प्रतिशत अति आवश्यक चिजमा खर्च गर्ने गरी छुट्याउनुहोस् । २० प्रतिशत हिस्सा तपाईको वित्तीय लक्ष्य पूरा गर्नका लागि बचत गर्नुहोस् र बाँकी रहेको ३० प्रतिशत हिस्सा मनमौजी खर्चका लागि राख्नुहोस् । तर, अब वित्तीय जानकारहरुले यो नियम फलो नगर्न सल्लाह दिइरहेका छन् । अब बचतको हिस्सा कम्तीमा ३० प्रतिशत हुनुपर्ने उनीहरुको राय छ । यदि तपाईले लोन लिनुभएको छ भने त बचतको हिस्सा अझ बढाएर ४० प्रतिशत पुर्याउनुपर्छ । 

हिजोआज कर्पोरेट सेक्टरमा काम गर्नेहरुले राम्रो तलब पाइरहेका छन्, यस्तो बेलामा बढीभन्दा बढी बचत गर्न सकिन्छ । लाइफस्टाइल इन्फ्लेसन(बढ्दो महङ्गो जीवनशैली)का कारण आफ्नो भविष्यको लक्ष्यका लागि आजैदेखि बचत गर्न थाल्नु निकै महत्वपूर्ण भइसकेको छ । 

४.पुरानो नियम: आपतकालीन अवस्थाका लागि ३–६ महिना खर्च धान्ने गरी फण्ड बनाउनुहोस् । 
नयाँ सल्लाह: यो फण्ड कम्तीमा पनि ९ महिनासम्मको खर्च चलाउन योग्य हुनुपर्छ
आपतकालीन अवस्थाका लागि फण्ड बनाउने कामको उद्देश्य कुनै पनि फाइनान्सियल वा मेडिकल इमेरजेन्सीको समाधान गर्ने हो । तपाईको घरेलु मासिक खर्चको ३ देखि ६ गुणासम्मको पैसा कुनै लिक्विड फण्ड वा मुद्धती निक्षेपमा राख्नुु इमेरजेन्सी फण्ड बनाउने दिशाको पहिलो प्रयास हुनसक्छ । तर, वित्तीय योजनाकारहरुको भनाईमा यो फण्डको आकारलाई अब नयाँ शिराबाट सोच्न आवश्यक भइसकेको छ । 

विज्ञहरुका अनुसार अब यस्तो फण्डको आकार तपाईको ९ महिनाको खर्च धान्नसक्ने क्षमताको बनाइनुपर्छ । यसबाहेक जागिर गएपछि, मेडिकल वा फाइनान्सियल क्राइसिस पैदा भएको अवस्था बाहेक अचानक आउनसक्ने कुनै पनि किसिमको आर्थिक समस्यालाई तपाईले यस्तो फण्डको मद्धतबाट टार्न सक्नुहुन्छ । 

अहिले मानिसहरु प्राय करिअर परिवर्तन गरिरहेका हुन्छन्, मिड टर्म ब्रेक लिइरहेका हुन्छन्, आफ्नो जागिरे क्षमता निखार्नका लागि अझ बढी पढिरहेका हुन्छन् । यस्तो अवस्थामा आपतकालीन फण्ड हुँदा निकै ठूलो सहायता प्राप्त हुन्छ । 

तर, सबै रकम कम रिटर्न दिने खालको फिक्स्ड डिपोजिट वा लिक्वीड फण्ड्समा राख्नु हुँदैन । यस्तो फण्डमा कम्तीमा ३ महिनासम्म खर्च धान्न पुग्ने रकम राखेर बाँकी चाहि बढी रिटर्न दिने वित्तीय औजारहरुमा लगानी गर्नुपर्छ । 

तर, आपतकालका लागि एकमुष्ट रकम छुट्याइरहँदा आफ्नो अति आवश्यकताप्रति पनि ध्यान दिनुपर्दछ । यदि तपाईको आम्दानी कम छ र तपाईको कमाईमा निर्भर हुने सदस्यको संख्या धेरै छ भने तपाईको इमेरजेन्सी फण्ड ठूलो हुन आवश्यक छ । तर, आम्दानी राम्रो छ र घरका पतिपत्नी नै कमाइरहेका छन् भने यस्तो अवस्थामा धेरै ठूलो फण्डको आवश्यकता नपर्न पनि सक्छ ।

५.पुरानो नियम: जीवन बिमाको आकार तपाईको वार्षिक आम्दानीको १० गुणा हुनुपर्छ
नयाँ सल्लाह:यदि उमेर ४० भन्दा कम छ भने जीवन बिमाको आकार वार्षिक आम्दानीको १५–२० गुणासम्म लैजानुपर्छ
वार्षिक आम्दानीको १० गुणा बराबरको जीवन बिमा गर्नु कुनै पनि आम मानिसका लागि पर्याप्त देखिनसक्छ । तर, तपाईले भर्खरै करिअर सुरुवात गर्नुभएको छ र आम्दानी पनि राम्रो छैन भने तपाईमा यो नियम लागू नहुनसक्छ । यस्तो उमेरमा जीवन बिमाको कभर निकै ठूलो आवश्यक छ ।

यदि तपाईको उमेर कम छ भने लाइफ इन्स्योरेन्सको कभर तपाईको वार्षिक आम्दानीको २० गुणासम्म हुनुपर्छ । किनभने सुरुवाती वर्षमा तपाईको आम्दानी तीव्र गतिमा बढ्दैन र प्रत्येक वर्ष तपाईले आफ्नो जीवन बिमाको कभर अपेक्षाकृत ढंगले बढाउन सक्नुहुन्न । 

जसको उमेर ४० भन्दा बढी हुन्छ, उनीहरु वार्षिक आम्दानीको १० गुणा बढी नियममा टिकिरहन सक्छन् । तर, सबै नियम झै यो पनि सबै व्यक्तिमा लागू नहुनसक्छ । आफ्नो ऋण, आफूमा निर्भरको संख्या, उनीहरुको प्रोफाइल, आफ्नो लक्ष्य तथा जीवनशैलीको आधारमा तपाईले आफूलाई आवश्यक लाइफ कभर लिनुपर्ने हुन्छ ।

६.पुरानो नियम: शहरमा बस्नेहरुका लागि ५ देखि ८ लाखसम्मको हेल्थ कभर पर्याप्त हुन्छ

नयाँ सल्लाह: कुल हेल्थ कभर कमसेकम १५ लाखसम्मको हुनुपर्छ
मेडिसिन क्षेत्रमा भइरहेको प्रगतिका कारण कैयौ रोगहरुको राम्रो उपचार संभव भइरहेको छ, तर योसँगै खर्च पनि बढिरहेको छ । नेपालको हेल्थकेयर इन्फ्लेसन १८ प्रतिशत भन्दा माथि रहेको अनुमान गरिन्छ ।  त्यसकारण ५ देखि ८ लाखसम्मको कभर शहरी क्षेत्रमा बस्नेहरुका लागि पर्याप्त नहुनसक्छ । 

सानोतिनो सर्जरीका लागि राम्रो अस्पताल पुग्दा समेत निकै ठूलो खर्च हुने गर्छ । यसकारण शहरी क्षेत्रमा बस्नेले हेल्थ कभर(स्वास्थ्य बिमा)को आकारलाई बढाउनुपर्छ । 

नेपालका बिमा कम्पनीहरुले व्यक्तिगतदेखि पारिवारिक हेल्थकभरको अनेकन स्किम ल्याएका छन् । बैंकहरुले खाता खोल्ने ग्राहक लक्षित सामान्य हेल्थकभरको स्किम पनि ल्याएका छन् । तर, आफैंले राम्रो हेल्थकभरको स्किम खरीद गर्नुपर्छ । किनभने उमेर बितेपछि तपाईले राम्रो खालको यस्तो स्किम लिन खोज्नुभयो भने तपाईले निकै ठूलो रकम प्रिमियमको रुपमा बुझाउनुपर्ने हुन्छ । 

यसकारण विज्ञहरुका अनुसार युवाहरुका लागि ८ लाखसम्मको स्वास्थ्य बिमा ठीक भए पनि उमेर बढेसँगै १५ लाखदेखि ३० लाखसम्मको हेल्थकभर लिनुपर्छ । 

अहिले विभिन्न कम्पनीहरुले क्रिटिकल इलनेसका लागि समेत स्किम ल्याएका छन् । अतिरिक्त सुविधाको रुपमा आएका यस्ता स्किमसँगै आफैंले पनि हेल्थ कभरको आकार बढाउनुपर्छ । गम्भीर रोग लागिहालेमा त्यसबाट समेत आर्थिक रुपले लड्नसक्ने बिमाको स्किम लिनु पनि आजको आवश्यकता भइसकेको छ ।