काठमाण्डौ । साथमा भएको पैसा जम्मा गर्न आफ्नो खाता रहेको बैंक नै धाउनुपर्ने युगको अन्त भएको छ । नेपाल राष्ट्रबैंकले आइतबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै अन्य बैंकका खातामा समेत पैसा जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्रबैंकको यो निर्देशनसँगै पैसा जम्मा गर्नका लागि आफूले खाता खोलेको बैंक वा त्यसको शाखा नै पुग्नुपर्ने झञ्झटको अन्त भएको छ । यसले कतिपय ठाउँका खातावालहरुले पैसा जम्मा गर्न आफ्नो बैंक वा शाखा पुग्न लामो दूरी पार गर्नुपर्ने र त्यसरी जाँदा यातायात तथा अन्य नाममा हुने खर्च समेत अब जोगिनेछ । योसँगै यस्तो सेवा बैंकहरुले शुल्क लिएर गर्न पाउने व्यवस्था गरिएकोले उनीहरुको आम्दानीमा समेत योगदान पुग्नेछ ।
बैकिङ सेवा तथा कारोबारलाई थप सहज बनाउन ग्राहकलाई पायक पर्ने अन्य बैंक तथा बित्तीय संस्थाहरुका जुनसुकै शाखामा नगद जम्मा गरी आफ्नो बैंक तथा बित्तीय संस्थाको खातामा र सेवा प्रदायक संस्थाको खातामा भुक्तानी गर्दा एनसिएचएल आइपिएस प्रणालीमार्फत रकम जम्मा गर्न सकिने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।
यो क्रममा नगद कारोबारको सीमा सम्बन्धमा विद्यमान निर्देशन व्यवस्था बमोजिम हुनुपर्ने, नगद जम्मा गर्दा जम्मा गर्ने व्यक्तिको पहिचान हुनसक्ने विवरण लिनुपर्ने तथा १ लाख भन्दा बढीको कारोबारको सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान हुनसक्ने परिचयपत्र लिनुपर्ने र नगद जम्मा गर्नुको प्रयोजन समेत खुलाउनुपर्नेछ । यस्तै, बैंकले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने भौचरमा कम्तीमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालको नाम, र रकम जम्मा गर्ने व्यक्तिको नाम उल्लेख गर्नुपर्नेछ । साथै, ग्राहकलाई रकम जम्मा गरेको निस्सा प्रदान गर्ने व्यवस्था समेत मिलाउनुपर्नेछ ।
यस्तै, तोकिएको बैंक तथा बित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसकेमा रकम बुझिलिने संस्थाले सोको जानकारी जम्मा गर्ने व्यक्तिलाई सोही दिन गराउनुपर्नेछ भने यस प्रणालीमा रकम जम्मा गर्दा शुल्क लाग्नेछ । तर, सो शुल्कको बिषयमा ग्राहकलाई पूर्व जानकारी दिनुपर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19