काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले सोमबारदेखि पोखराको लेकसाइडमा शाखा सञ्चालनमा ल्याएएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरे । 

उद्घाटन कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रियस्तरमै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित गरिमा विकास बैंक लिमिटेडले पोखरा क्षेत्रको औद्योगिक, व्यावसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आइरहको र लेकसाइड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकले व्यवसायको विस्तार सँगसँगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आएको, संस्थागत शुसासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापहरुमा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाका रुपमा स्थापित हुन सफल भएको बताए । उनले सम्पूर्ण आधुनिक सुविधासहित स्थापित लेकसाइड शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्ने बताए ।

बैंकले काठमाण्डौ उपत्यकाभित्र ११ वटा शाखासहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेन्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २०७६ माघ ५ गतेसम्म ३७ अर्ब ६० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।