काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पुस १९ गते प्रदेश नं ४ को प्रादेशिक कार्यालय आफ्नै सुविधासम्पन्न भवन, पोखराको सिमलचौरमा स्थापना गरेको छ । 

नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना: संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुनेव्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मासाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले प्रष्ट्याएको छ । 

सो कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ४ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रदेश नं ४ अन्तर्गत बैंकका ५ वटा शाखाहरु(बागलुङ, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौर)बाट व्यापार बिस्तारकासाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ।

प्रदेश नं ४ मा रहेका ११ जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिब १७,००० ग्राहकलाई  बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।