काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। 

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा २२.८३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा २ करोड १७ लाख रुपैयाँमा सीमित थियो। गत वर्ष ६ करोड १० लाख रुपैयाँ रहेको पुनर्बीमा कमिसन आय बढेर ७ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीले ९ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९.८७ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले ६ करोड २० लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड १७ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षमा गत वर्षको यही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ३ लाख ६३ हजार रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर ६ लाख २१ हजार रुपैयाँ पुगेको छ। 

प्रथम त्रैमासमा कम्पनीको बीमा कोषको आकार ८.१४ प्रतिशतले बढेर २ अर्ब ४६ करोड रुपैयाँको भएको छ। गत वर्ष बीमा कोषमा २ अर्ब २७ करोड रुपैयाँमा मात्र थियो। 

गत वर्ष २ अर्ब ९९ करोड रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३ अर्ब १७ करोड पैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जारी बीमा लेखको संख्या ९ हजार २४६ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १७ हजार ५१० बीमालेख जारी गरेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९३.१४ रुपैयाँ, पीई रेसियो ७५७.५८ गुणा र प्रतिसेयर नेटवर्थ १२९२.४६ रुपैयाँ रहेको छ।