काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच मर्जर सम्झौता भएको छ । 

दुई बैंकबीच २०७६ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने गरी मर्जर सम्झौता भएको हो । 

मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक हुने र सो बैंक प्रदेश १ कै सबैभन्दा ठूलो बैंक बन्ने संचालकहरुले दाबी गरेका छन् ।

मर्जर सम्झौतामा सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष तारानाथ निरौला र काबेली विकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले हस्ताक्षर गरेका छन् ।

सफलतापूर्वक मर्जरपछि बन्ने बैंकको मुख्य कार्यालय धनकुटामा र कर्पोरेट अफिस विराटनगरमा हुनेछ ।

सप्तकोशी डेभलपमेन्ट बैंक २०६९ सालमा क्षेत्रीय बैंकको रुपमा स्थापित भई मोरङ, इलाम र पाँचथरमा सेवा दिइरहेको छ । हालै यो बैंकले झापा र सुनसरीमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गरिसकेको छ ।

हाल बैंकको चुक्तापूँजी ५२ करोड ३७ लाख र शाखा सञ्जाल संख्या १६ वटा रहेको छ ।

उता, धनकुटा र तेह्रथुममा सेवा दिइरहेको काबेली विकास बैंक २०६५ सालमा स्थापना भएको थियो । यसअघि काबेलीसँग माउन्ट मकालू विकास बैंकको मर्जर भएको थियो ।

हाल काबेलीको चुक्तापूँजी २८ करोड ४३ लाख रहेको छ भने शाखा सञ्जाल संख्या ७ रहेको छ ।

दुई बैंकको मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी ८० करोड माथि पूग्नेछ । 

नेपाल राष्ट्रबैंकले प्रदेशस्तरको बैंक बन्नलाई १ अर्ब २० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ मर्जरपछि बन्ने बैंकले ४० प्रतिशत पूँजी वृद्धि गर्नुपर्ने बाध्यता देखिन्छ । यसका लागि उसले थोरै बोनस सेयर र धेरै हकप्रदमा जोड दिन सक्छ ।

मर्जरपछि बन्ने बैंकले प्रदेश नम्बर १ का सबै १४ जिल्ला र सबै स्थानीय तहमा मर्जरको २ वर्षपछि शाखा सञ्जाल बिस्तार गर्ने योजना समेत बनाएको छ । 
दुई बैंकको मर्जरपछि प्रोमोटर सेयरहोल्डरको संख्या ४२२ पुग्ने र सर्वसाधारण सेयरहोल्डरको संख्या करिब २८ हजार पुग्ने बताइएको छ । 

२०७५ असार मसान्तसम्मको तथ्यांक हेर्दा दुई बैंकबाट परिचालन भएको निक्षेप २ अर्ब ४२ करोड र ऋण लगानी २ अर्ब २६ करोड हुनेछ ।

मर्जरलाई सफलतापूर्वक सम्पन्न गर्न एक मर्जर समिति समेत बनाइएको छ । समितिमा सप्तकोशीका सञ्चालक समितिका सदस्य बलराम बराल संयोजक छन् । संयुक्त मर्जर समितिका अन्य सदस्यहरुमा सप्तकोशीका तर्फबाट यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका तर्फबाट जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहेका छन् ।