-मनिष सोती
काठमाण्डौ । नेपाल र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्ने भएका छन् । 

प्राधिकरणले यी दुई कम्पनीलाई पुँजी बृद्धिको योजना पेश गर्न ७ दिने अल्टिमेटम दिएको थियो । 

प्राधिकरणले क्यापिटल प्लान पेश गर्न निर्देशन दिएबमोजिम यी दुबै कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गरी पुँजी बृद्धि गर्ने योजना प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ । 

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीले नेपाल रि को सेयर बेचेर पुँजी बृद्धि गर्ने योजना प्रस्ताव पेश गरेको बताए ।

‘प्रभु र नेपाल इन्स्योरेन्स दुबै कम्पनीले नेपाल रि–इन्स्योरेन्स कम्पनीको २०–२० लाख कित्ता सेयर बिक्री गर्ने प्लान बनाएका छन् ।’ सिलवालले भने, ‘यो सेयर बिक्री गरेर पनि पुँजी अपुग भएको खण्डमा राइट सेयर जारी गर्न दिनेछौं ।’ 

नेपाल रि–इन्स्योरेन्सको २०–२० लाख कित्ता सेयर बिक्री भएको खण्डमा दुबै कम्पनीलाई करिब ६० करोड रुपैयाँ हाराहारीमा आउने समेत सिलवालले बताए । 

यसअघि नेपाल इन्स्योरेन्सले विभिन्न ठाउँको घर–जग्गा बिक्री गरेर पुँजी बृद्धि गर्ने बताएको थियो । तर, समयमा नै घर–जग्गा बिक्री हुने सम्भावना न्यून भएका कारण प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । 

नेपाल इन्स्योरेन्सले न्यूनतम पुँजी पुर्याउन साबिक आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरका लागि लामो छलफल गरेर पनि टुङ्गो लगाउन सकेको थिएन । कम्पनीले आफ्नो नाममा रहेको घर–जग्गा लिलाममार्फत पुँजी बढाउने प्रस्ताव प्राधिकरणमा पेस गरेको थियो । 

दुई पटकसम्म सम्पत्ति लिलाम सम्बन्धी सूचना जारी गरिसक्दा समेत कम्पनीको पुँजी बृद्धिमा खासै प्रभावकारी रिजल्ट नदेखिएका कारण प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई पुनः क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । 

त्यस्तै, प्रभु इन्स्योरेन्सले पनि प्राधिकरणको निर्देशन बमोजिम पुँजी बृद्धिका लागि विदेशी लगानी भित्र्याउनेसम्मको योजना बनाएको थियो ।

पुँजी बृद्धिका लागि प्रभुको साबिक अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति समेत भएको थियो । प्रभु र अजोडबीच स्वाप रेसियो, नाम र संचालकको विषयमा सहमति नहुँदा दुई कम्पनीबीचको मर्जर भाँडिएको थियो ।

प्रभुले विदेशी लगानी भित्र्याउन नसकेको खण्डमा हकप्रदको बाटो रोज्ने समेत जनाएको थियो । सोही बमोजिम कम्पनीले नेप्सेलाई छलेर हकप्रद सेयरसम्बन्धी प्रस्ताव प्राधिकरणमा लगेपछि नेप्सेले हकप्रदको बाटो छेकेर कारबाही समेत गरेको थियो । हकप्रद र विदेशी लगानीबाट पुँजी बृद्धि गर्ने योजना सम्भव नदेखिएका कारण प्राधिकरणले प्रभुलाई समेत ७ दिनभित्र क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । 

हाल प्रभु इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले तोकेको साढे २ अर्ब चुक्तापुँजी पुर्याउन प्रभुलाई अझै १ अर्ब करोड ३८ लाख रुपैयाँ आवश्यक रहेको छ, भने नेपाल इन्स्योरेन्सलाई १ अर्ब १२ करोड १ लाख रुपैयाँ आवश्यक रहेको छ । यदि यी दुई कम्पनीको नेपाल रि को सेयर बिक्री भएमा दुबैलाई करिब ६०–६५ करोड पुँजी प्लस हुन आउने अनुमान छ । 

प्राधिकरणले पुँजी बृद्धिको लागि पहल गर्ने कम्पनीहरुलाई सहुलियतमा हकप्रद जारी गर्न दिने निर्णय समेत गरेको छ । एकदर्जनभन्दा बढी कम्पनीलाई प्राधिकरणले हकप्रदको बाटो खुला खुलाइसकेको छ । प्रभु र नेपाल इन्स्योरेन्सले पनि नेपाल रि को सेयर बिक्री गरेर पुँजी बृद्धि गरेमा अपुग पुँजी बराबरको हकप्रद जारी गर्न दिने प्राधिकरणले जनाएको छ।