काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको सुरु भएको छ। 

नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक संक्षिप्त समारोहबीच नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्तापुँजी  रु. ५ अर्ब पुर्याउने निर्देशन जारी गरेपछि २०७९ असार ३० गते साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरका लागि सम्झौता भएको थियो। 

२०८० जेठ २६ गते साधारणसभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो। 

एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए। उनले कम्पनीले जनताको चाहनाअनुसार नयाँ–नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाका बीच कारोबार गर्ने आशा व्यक्त गरे। 

प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिका ज्येष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए। कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे। 

कार्यक्रमलाई समापन गर्दै अध्यक्षता गरेका सञ्चालक श्रेष्ठले बीमा बजार झन्–झन् प्रतिस्प्रधी हुँदै गइरहेको बताए। मर्जरपछि दुवै कम्पनीका कर्मचारीलाई मिलाएर ऊर्जाशील बनाउने जिम्मेवारी दुवै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको उनको भनाइ छ। 

बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गर्दै श्रेष्ठले सबैलाई धन्यवाद व्यक्त गरे। 
कार्यक्रमको उद्घोषण वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले गरेका थिए।