काठमाण्डौ । प्रभू इन्स्योरेन्सले मुलुकमा छरिएर रहेका सहकारी संस्थाहरुमार्फत अनलाइन प्रिमियम भुक्तानीको व्यवस्था मिलाएको छ । 

इन्स्योरेन्सले २० औं वर्ष पूरा गरी २१ औ वर्षमा प्रवेशको अवसरमा आयोजित समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले यस्तो जानकारी दिएका हुन् । 

कम्पनीले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सम्पूर्ण कारोबार अनलाइन पद्धतिबाट संचालन हुँदै आएकोमा त्यसलाई अझ बढी सुविधाजनक बनाउँदै मुलुकमा छरिएर रहेका सहकारी संस्थाहरुमार्फत अनलाइन प्रिमियम भुक्तानीको व्यवस्था गरिएको स्पष्ट पारे । 

उनले प्रतिस्पर्धात्मक बजारमा प्रभू इन्स्योरेन्स निकै अगाडि बढिसकेको दाबी गरे । गत वर्षको महाभूकम्प, अघोषित नाकाबन्दी र मधेश आन्दोलनल लगायतले बिमा क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गर्दै अप्ठ्यारा बाटोहरु पार गर्दै कम्पनी अगाडि बढेको दाबी गरे । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले गत आर्थिक वर्षमा भएका प्रगतिको बिषयमा जानकारी गराएका थिए । उनले कम्पनीले आफ्नो सेवा बिस्तारका लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरी कारोबार सुचारु गरेको जानकारी गराउँदै आगामी दिनमा सेवा बिस्तारका लागि उपयुक्त स्थानको पहिचान गरी थप शाखा तथा उपशाखा कार्यालय स्थापना गरिने समेत जानकारी गराए । 

हाल प्रभू इन्स्योरेन्सले मुख्य र शाखा गरी १९ वटा कार्यालयबाट बिमाको सेवा दिइरहेको छ ।