काठमाण्डौ । कतिपय कमजोर संस्थाहरुलाई गाभेर बलियो बन्ने बाटोमा रहेको प्रभू बैंक लिमीटेड र स–साना संस्थाहरुबीचको मर्जरबाटै ठूलो भएको नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)बीच मर्जर हुने संभावना बढेको छ । 

नवील बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभू र एनसीसीका संचालकबीच मर्जरका लागि छलफल सुरु भएका थिए । ती छलफलहरु निश्कर्षनजिक पुगेको दुवै बैंकका संचालकहरुले पुष्टि गरेका छन् । 

मर्जरका क्रममा जटिल देखिएको कर्मचारी समायोजनदेखि संचालक समितिमा प्रतिनिधित्व, व्यवस्थापनको नेतृत्वसम्मका विषयमा मोटामोटी सहमति बनिसकेको दुवै बैंकस्थित उच्च स्रोतहरुले जानकारी दिएका छन् । 

‘सेयर स्वाप रेसियोमा पनि मोटामोटी सहमति भइसकेको छ । एनसीसीको तर्फबाट बराबरी हैसियतमा मर्जर हुनुपर्ने कुरा आइरहेको छ ।’ प्रभू बैंकका एक संचालकले बिजशालासँग भने–‘हामी १००ः९५ को स्वापमा एकआपसमा गाभिन तयार भइसकेका छौं । एकदुई रुपैयाँको विषयले अब मर्जरको संभावना टर्ने देखिन्न ।’ 

प्रभू समूहले लामो समयदेखि कुनै एक वाणिज्य बैंकलाई गाभ्न चाहिरहेको थियो । रेमिटान्स विजिनेशका प्रतिस्पर्धी चन्द्र ढकालले जनता बैंक गाभेर ग्लोबल आइएमई बैंकलाई देशकै ठूलो बैंक बनाएपछि प्रभू समूहले पनि विभिन्न साना बैंकसँग मर्जरको संभावनाको विषयमा कुराकानी अगाडि बढाएको थियो । यो क्रममा प्रभू बैंकले सिभिल, सेञ्चुरी कमर्सियल बैंकसँग पनि विभिन्न चरणमा कुरा गरेको थियो । तर, ती बैंकसँगको कुरा अपेक्षित सफल हुन सकेन। 

यो बीचमा प्रभू बैंकले मेगा बैंकसँग पनि मर्जरको विषयमा छलफल चलाएको थियो । तर, मेगासँग पनि अपेक्षित ढंगले कुरा मिल्न सकेन ।

प्रभू बैंकसँग कुुरा नमिलेपछि मेगा बैंक अहिले बैंक अफ काठमाण्डूसँग मर्जर गर्ने मोटामोटी सहमति गरी मौद्रिक नीति कुरेर बसेको छ । 

प्रभू बैंकका संचालकहरुले पनि एनसीसीसँग संभावित मर्जरको आफूहरुको स्टाटस लगभग अन्तिम अवस्थामा रहेको दाबी गरेका छन् । ‘हामी पनि मौद्रिक नीति अगाडि मर्जरको सम्झौता गर्दैनौं, मौद्रिक नीतिबाट पाउने सुविधाहरुलाई किन छाड्ने ?’ ती संचालकले भने–‘तपाई यति बुझ्नुहोस्, सबै बिषय टुंगिसकेको छ, प्रारम्भिक समझदारीपत्रमा दुवै बैंकले हस्ताक्षर गर्न मात्र बाँकी छ ।’

कस्तो र कत्रो बन्ला बैंक ?
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अवधिमा प्रभू बैंकको चुक्तापूँजी ११ अर्ब ३४ करोड रहेको छ भने एनसीसी बैंकको १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यी दुई बैंक बराबरी हैसियतमै गाभिए भने पनि मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी २२ अर्ब नजिक पुग्नेछ । 

तेश्रो त्रैमाससम्म एनसीसी बैंकले ८७ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ भने प्रभू बैंकले १ अर्ब ५९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

प्रभू बैंकले तेश्रो त्रैमाससम्म २ अर्ब १० करोड तथा एनसीसी बैंकले १ अर्ब १० करोड आर्जन गरेको छ । 

यो अवधिसम्म एनसीसी बैंकले १ खर्ब १ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब ५९ करोड बढी कर्जा परिचालन गरेको छ । उता, प्रभू बैंकले चाहिँ  १ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब बढी कर्जा परिचालन गरेको छ । 

तेश्रो त्रैमाससम्म प्रभू बैंकको इपीएस २४.७९ रुपैयाँ तथा एनसीसीको १४.२३ रुपैयाँ रहेको छ ।