काठमाण्डौ । प्रभू बैंक लिमीटेडले यसअघि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई परिमार्जन गरेको छ । 

नेपाल राष्टबैंकको निर्देशन अनुसार बैंकले कुल १० प्रतिशत लाभांशको प्रस्तावलाई परिवर्तन गरी ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

सरसर्ती हेर्दा कुल लाभांश दर घटेकोजस्तो देखिए पनि सेयर लगानीकर्तालाई भने फाइदा नै भएको छ । कारण, ५ प्रतिशत बोनस सेयर बढेर ८ प्रतिशत पुगेको छ । 

बैंकले बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत वितरणको प्रस्ताव गरेको छ । 

यसअघि प्रभू बैंकको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

तर, नेपाल राष्टबैंकले वितरणयोग्य मुनाफामध्येबाटै १७ करोड ४ लाख ६० हजार ६७९ रुपैयाँलाई नियमनकारी कोषमा थप गर्न निर्देशन दिएपछि कुल लाभांश दर घटाउनु परेको प्रभू बैंकको प्रष्टोक्ति छ । 

माघ १७ गते बसेको संचालक समितिको बैठकले १७ करोड बढी नियमनकारी कोषमा थप गरिसकेपछि कायम सञ्चित मुनाफा ६० करोड ३१ लाख हुन आउने र सेयर प्रिमियम बापत जगेडाकोषमा रहेको १५ करोड १९ लाख समेत गरी कुल ७५ करोड ५१ लाख १७ हजार रुपैयाँ वितरणयोग्य मुनाफा हुन आएको र यहीबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश वितरणको संसोधित निर्णय गरिएको बैंकको प्रष्टोक्ति छ ।