काठमाण्डौ । प्रभू बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति मात्र हासिल गरेको छ । 

यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खूद नाफा ७.९३ प्रतिशतले वृद्धि गरेको हो । 

बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा २८ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आबको सोही अवधिमा यो बैंकको नाफा २६ करोड १७ लाख रुपैयाँ थियो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ भने राम्रै प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष ३४ करोड ४८ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ४६ करोड ८२ लाख पुगेको छ । 

प्रभू बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । सञ्चित कोषमा ५५ करोड ४७ लाख रुपैयाँ छ । 

प्रभू बैंकले यो अवधिमा ६५ अर्ब २९ करोड निक्षेप संकलन गरी ५१ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४५ अर्ब ६६ करोड निक्षेप संकलन गरी ३० अर्ब ३ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको निस्क्रिय कर्जाको दर भने बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५.७१ प्रतिशत रहेको एनपीएल यो वर्ष वृद्धि ७.५४ प्रतिशत पुगेको छ । 

प्रभू बैंकको प्रति सेयर आम्दानी १९.२४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १०९.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९१.२८ गुणा कायम भएको छ ।