काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । 

कम्पनीको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले बीमा कम्पनीहरुको पूंजी बृद्धि सम्वन्धमा नयाँ मापदण्ड तय गरिएकोमा तोकिएको समयमै कम्पनीहरुले पुंजी कायम गर्न सफल हुने बिश्वास व्यक्त गरे । उनले निर्जीवन बीमाको दायरा बृद्दिका लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको समेत बताए । 

आगामी दिनहरुमा बीमा कम्पनीहरुको निरीक्षण प्रभावकारी बनाउँदै लगिने उल्लेख गर्दै उनले बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने प्रष्ट्याए । प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको तथा सबै कम्पनीहरुमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे । 

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामूूलक कार्यक्रम संचालन गरी अगाडि बढ्नु पर्नेमा जोड दिइन् । 

कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले बीमा समितिको मार्गदर्शनमा कम्पनीले आफूलाई सुधार गर्दै लगेको तथा समितिको निर्देशन बमोजिम पूँजी बृद्धिको योजना पेश गरिसकिएकोले योजना अनुरुप पुंजी बृद्धि गरिने तथा बीमा समितिको स्वीकृतिमा शाखा बिस्तार गर्दै लगिने प्रष्ट्याए । उनले लघु बीमा कम्पनीको गठनको आवश्यकता समेत औंल्याएका थिए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताउँदै आवश्यकताअनुसार शाखा सञ्जाल बिस्तार गरिने बताए । 

हाल यस कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या २३ रहेको छ ।