काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म बैंकले २ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १९ करोड मात्र खूद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा खूद नाफातर्फ बैंकले ६८.४५ प्रतिशतले प्रगति गरेको देखिएको छ । 
 
समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । 
 
यस्तै, अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८० करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब ९६ करोड पुगेको छ । 
 
कोरोनाकालमा पनि व्यवसाय बिस्तार भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि निकै राम्रो बढोत्तरी भएको देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमासससम्म ४ अर्ब ५२ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिसम्म ५ अर्ब २ करोड पुगेको हो । 
 
अघिल्लो वर्ष १ अर्ब २१ करोडमा सीमित रिटेन अर्निंग बढेर यो वर्ष १ अर्ब ६१ करोड पुगेको छ भने ३ अर्ब ८५ करोडमा सीमित रिजर्बको आकार बढेर ४ अर्ब ४५ करोडको भएको छ । 
 
समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड बढी कर्जा परिचालन गरेको थियो । 
 
बैंकले कोरोनाकालमा समेत खराब कर्जाको अनुपात(एनपीएल)लाई घटाउने महत्वपूर्ण सफलता पाएको छ । कुनै बेला खराब कर्जाको थुप्रो लाग्ने यो बैंकमा समीक्षा अवधिसम्म त्यस्तो कर्जाको अनुपात घटेर १.६८ प्रतिशतमा सीमित बन्न पुगेको छ । यो अनुपात अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म ३.१५ प्रतिशत थियो । 
 
बैंकको खूद नाफामा सुधार भएसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ११.५८ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष  १७.७३ रुपैयाँको उचाईमा पुगेको छ । 
 
समीक्षा अवधिसम्म बैंकको आधार दर ६.८८ प्रतिशत रहेको छ भने सीडी रेसियो ७३.२१ प्रतिशत, पीई रेसियो २५.७८ गुणा, कुल सम्पत्तिमा प्रतिफल ०.९३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५३.५० रुपैयाँ र तरलता अनुपात २७.७७ प्रतिशत कायम भएको छ ।