काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ झिनो प्रगति मात्र हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो बैंकले चालु आबको सोही अवधिमा १३.८० प्रतिशतले मात्र खूद नाफातर्फ वृद्धि हासिल गरेको हो । 

बैंकले बुधबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा २२ करोड ५ लाख खूद नाफा रहेकोमा यो वर्ष बढेर २५ करोड १० लाख भएको छ । 

अघिल्लो वर्ष ३० करोड ७३ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर ३८ करोड २ लाख कायम भएको छ । 

बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड र सञ्चित कोषमा २ अर्ब रुपैयाँ रहेको छ । 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ अर्ब ४१ करोड निक्षेप संकलन गरी ४२ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४१ अर्ब ४० करोड निक्षेप संकलन गरी ३२ अर्ब ८२ करोड कर्जा प्रवाह भएको थियो । 
यो बैंकले निस्क्रिय कर्जा दरलाई पनि घटाएको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत रहेको एनपीएल यो वर्ष १.३२ प्रतिशतमा झरेको छ । 

प्राइम कमर्सियल बैंकको प्रति सेयर आम्दानी  २७.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ  १५४.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.२८ गुणा कायम भएको छ ।