काठमाण्डौ । केही अन्तराष्ट्रिय अवार्ड जितेको भन्दै खूबै प्रचारप्रसारमा उत्रिएको प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ साढे २४ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको यही अवधिमा ७० करोड ९५ लाख खुद नाफा भएकोमा यो वर्ष केही बढेर ८८ करोड २९ लाखको उचाईमा पुगेको हो ।

बैंकको संचालन मुनाफा भने ४५ प्रतिशतको वृद्धि भई १ अर्ब २५ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यसको संचालन मुनाफा ८६ करोड मात्र थियो ।

यो अवधिमा बैंकले ५६ अर्ब १० करोड निक्षेप संकलन गरी ४८ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४६ अर्ब २७ करोड निक्षेप संकलन गरी ३७ अर्ब ७ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ११ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष बढेर १ अर्ब ३१ करोडको उचाईमा पुगेको छ ।

बैंकले १.५९ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर १.३७ प्रतिशतमा झारेको छ । बैंकको कस्ट अफ फण्ड भने बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ४.२३ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ४.९८ प्रतिशत पुगेको हो ।

अघिल्लो वर्ष २५ रुपैयाँ ५३ पैसा रहेको प्रतिसेयर आम्दानी(इपीएस) पनि घटेर २० रुपैयाँ ३२ पैसामा  सीमित बनेको छ । मूल्य आम्दानी अनुपात २३.५७  गुणा कायम भएको छ भने प्रति सेयर नेटवर्थ १३२.९८ रुपैयाँ  कायम भएको छ ।

यो बैंकले हालै विराटलक्ष्मी डेभलपमेन्ट बैंक र कन्ट्री डेभलपमेन्टलाई गाभेर एकीकृत बित्तीय कारोबार सुरु गरेको छ । यी बैंकहरुको बित्तीय विवरण समेटेर प्राइम कमर्सियलले चौथो त्रैमासको रिपोर्ट ल्याउनेछ ।