काठमाण्डौ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासमा प्राइम कमर्सियल बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । 

समीक्षा अवधिमा प्राइम बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.५६ प्रतिशतले बढेर ३ अर्ब २५ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकको खूद नाफा २ अर्ब २५ करोड रुपैयाँमा सीमित थियो । 

बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्म ३ अर्ब २६ करोडमा सीमित संचालन मुनाफामा समेत ४३.७७ प्रतिशतले वृद्धि गरी ४ अर्ब ६९ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले ७७ करोड ५७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा समेत नाफामा उल्लेख्य बढोत्तरी हुन पुगेको हो । 

चुक्तापूँजी १६ अर्ब माथि रहेको बैंकले समीक्षा अवधिमा २ अर्ब ६६ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

कोरोनाकालमा समेत व्यवसाय बिस्तारमा ध्यान दिएको बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ६४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ५ अर्ब ९५ करोड पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ २९.०६ प्रतिशत र कर्जातर्फ २२.५८ प्रतिशतले सुधार भएको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ६ अर्ब ५४ करोडमा सीमित रिजर्बको आकार बढेर यो वर्ष ७ अर्ब ८४ करोड पुर्याएको बैंकले १.४८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई समेत घटाएर १.१९ प्रतिशतमा झार्ने सफलता पाएको छ । 

खूद नाफामा भएको उल्लेख्य बढोत्तरीसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १६.१० रुपैयाँबाट बढेर २०.२४ रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकको पूँजीकोष अनुपात १५.१० प्रतिशत, कोषको लागत ५.७४ प्रतिशत, आधार दर ७.२१ प्रतिशत, सीसीडी रेसियो ७९.६० प्रतिशत, प्रतिसेयर नेटवर्थ १४८.७६ रुपैयाँ, पीई अनुपात २३.६७ गुणा कायम भएको छ ।