– मनिष सोती

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेका ४ जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन थप कसरत गर्नुपर्ने देखिएको छ। 

आईपीओ जारीपश्चात् पनि आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको पुँजी अपुग हुने देखिन्छ। यी ४ कम्पनीले तोकिएको पुँजी पुर्याउन बोनस सेयर जारी गरीपछि अपुग पुँजी रकमबराबरको हकप्रदको सहारा लिनुपर्नेछ। 

यी कम्पनीले प्रिमियम मूल्य राखेर आईपीओ जारी गरेकाले सोही रकमलाई बोनस सेयरको रुपमा वितरण गर्न सक्नेछन्। तर, बीमा प्राधिकरणका अनुसार ती ४ कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण सार्वजनिक गरेपश्चात् सोही विवरणको आधारमा मात्रै बोनस सेयर जारी गर्न पाउनेछन्। यद्यपि प्रिमियम मूल्यबराबरकै बोनस जारी गरे पनि कम्पनीको न्यूनतम चुक्तापुँजी अझै अपुग नै देखिन्छ। 

आइएमई लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। 

हाल आइएमई लाइफको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ छ। आईपीओ जारीपश्चात कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीलाई अझै पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन करिब १ अर्ब अर्थात् २५ प्रतिशत पुँजी जुटाउनुपर्नेछ। कम्पनीको आईपीओ १ करोड १४ लाख कित्ता बिक्री भएको थियो। जसअनुसार प्रिमियममार्फत कम्पनीले १ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ। 

त्यस्तै सिटिजन लाइफले पनि श्रम स्वीकृति लिई वैदेशिक रोजगारका लागि विदेशिएका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको छ। कम्पनीले अब सर्वसाधारणहरुका लागि आईपीओ बिक्री खुला गर्ने तयारी गरेको छ। 

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँका दरले १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीको हाल चुक्तापुँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ। आईपीओ जारीपश्चात कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ। 

कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन अझै १ अर्ब २५ करोड रुपैयाँ अर्थात ३३ प्रतिशत पुँजी जुटाउनुपर्नेछ। कम्पनीले आईपीओ बिक्रीमार्फत १ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

त्यस्तै रिलायबल नेपाल लाइफले दुई चरणमा आईपीओ जारी गरिसकेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ अर्ब १४ करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। आईपीओ जारीपश्चात् कम्पनीको पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीलाई पनि ५ अर्ब पुँजी पुर्याउन १ अर्ब पुँजी अर्थात २५ प्रतिशत जुटाउनुपर्नेछ। कम्पनीले आईपीओ बिक्रीमार्फत १ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।  

यसका साथै सन नेपाल लाइफले पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि आईपीओ जारी गरी सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५०.५५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५०.५५ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँबराबरको ९६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। 

हाल सन नेपाल लाइफको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ। आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियममार्फत १ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको छ। तर, पनि कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ३० प्रतिशत पुँजी अपुग रहेको छ। 

प्रिमियमको आधारमा कुन कम्पनीले कति बोनस जारी गर्छ ? 

यदि बीमा प्राधिकरणले प्रिमियमबाट उठाएको रकमबाट बोनस जारी गर्न स्वीकृति दिएमा रिलायबल नेपाल लाइफले सबैभन्दा बढी बोनस जारी गर्नेछ। कम्पनीले प्रिमियमबाटै १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ कलेक्सन गरेको छ। यसर्थ कम्पनीले ४४.७५ प्रतिशत बोनस सेयर जारी गर्न सक्दछ। 

त्यस्तै दोस्रोमा सिटिजन लाइफले ४१.०४ प्रतिशत बोनस जारी गर्न सक्ने क्षमता राख्दछ। सिटिजनले आईपीओ बिक्री गरी १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। यसका साथै आइएमई लाइफले पनि ३९.०२ प्रतिशतसम्म बोनस सेयर जारी गर्ने क्षमता राख्दछ। कम्पनीले आईपीओ बिक्रीमार्फत १ अर्ब ५६ करोड ७ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। 

यसैगरी सन नेपाल लाइफले पनि ३९.६२ प्रतिशत बोनस सेयर जारी गर्ने क्षमता राख्दछ। कम्पनीले आईपीओ बिक्रीमार्फत १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ। 

प्रिमियमको आधारमा यी ४ जीवन बीमा कम्पनीले उत्कृष्ट बोनस सेयर जारी गर्न सक्ने क्षमता राखे पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुग्न क्षमताभन्दा कममात्रै बोनस जारी गरे पनि पुग्दछ। आइएमई लाइफ र रिलायबल नेपाल लाइफलाई २५–२५ प्रतिशत, सिटिजन लाइफलाई ३३.३३ प्रतिशत र सन नेपाल लाइफलाई ३० प्रतिशतमात्रै पुँजी थप गरे तोकिएको न्यूनतम चुक्तापुँजी पुग्नेछ। 

के भन्छ प्राधिकरण ? 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पराजुलीले आईपीओमा उठाइएको प्रिमियमका आधारमा मात्रै बोनस जारी गर्न नपाउने बताए। ‘कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण हेरेरमात्रै बोनस जारी गर्न दिनेछौँ’, पौडेलले भने, ‘कम्पनीहरुले कति मुनाफा आर्जन गरे ब्यालेन्स्ड सिट हेरी तर्जुमा गरेरमात्रै त्यसका आधारमा बोनस जारी गर्न दिनेछौँ।’

यसका साथै बोनस जारीपश्चात पुँजी अपुग भएको कम्पनीलाई अपुग रकमबराबरको हकप्रद निष्कासन गर्न दिने प्रवक्ता पौडेलले बिजशालालाई बताए।