काठमाण्डौ । चुक्तापूँजीमा भएको वृद्धिको तुलनामा खूद नाफातर्फको वृद्धि सामान्य भएका कारण फरवार्ड माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक भएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफातर्फको प्रगति १८.५७ प्रतिशत हो । 

यो अवधिमा कम्पनीको चुक्तापूँजीमा भने ५०.०८ प्रतिशतको वृद्धि भएको छ । यसकारण वार्षिकीकृत प्रतिसेयर आम्दानी १३५.६८ रुपैयाँबाट घटेर १०७.१८ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा फरवार्डको संचालन मुनाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५७ प्रतिशतले वृद्धि भई १२ करोड ६३ लाख पुगेको छ । 

व्यवसाय बिस्तारमा फरवार्डले करिब १६ प्रतिशतको फड्को मारेको देखिएको छ । अघिल्लो वर्ष १५ करोड ६० लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १८ करोड ८ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा फरवार्डले ३ अर्ब ३९ करोड निक्षेप संकलन गरी तथा ४ अर्ब १० करोड सापटी लिई ८ अर्ब ११ करोड बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ करिब २० प्रतिशत, सापटीतर्फ १०.१७ प्रतिशत र कर्जातर्फ करिब २९ प्रतिशतको फड्को मारेको हो ।

फरवार्डले आफ्नो रिजर्ब कोषलाई अझ मजबुत बनाएको छ । यहीकारण अघिल्लो वर्ष ६६ करोड ७६ लाखमा सीमित रिजर्ब बढी ८१ करोड ८९ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ०.४९ प्रतिशत रहेको खराब कर्जाको अनुपात केही बढी ०.६१ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३७२.८३ रुपैयाँ कायम भएको छ ।