काठमाण्डौ । लघुवित्त कम्पनीमा राम्रो र बलियोमध्येको एक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २० करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.५६ प्रतिशतले बढी हो । 

यो कम्पनीले २४ करोड ३७ लाखमा सीमित संचालन मुनाफालाई बढाएर ३१ करोड ५७ लाखको उचाई चुमाएको छ भने ३७ करोड ८४ लाखमा सीमित खूद ब्याज आम्दानीमा १८.४५ प्रतिशतको बढोत्तरी गरी ४४ करोड ८३ लाखको उचाईमा पुर्याएको छ । 

समीक्षा अवधिमा फरवार्डले ५ अर्ब १८ करोड निक्षेप संकलन गरी तथा ५ अर्ब ७४ करोड सापटी लिई १० अर्ब ८४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप, सापटी र कर्जातर्फ क्रमशः ४३.२४, ३३.२४ र २५ प्रतिशतले प्रगति गरेको हो । 

अघिल्लो वर्ष यही अवधिमा ८८ करोड २३ लाख रहेको रिजर्बको आकारमा भने सामान्य संकुचन भई ८७ करोड २८ लाखमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म ०.६६ प्रतिशत रहेको खराब कर्जाको अनुपात केही बढी ०.७७ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड थोरै बढेर १०.०६ प्रतिशत पुगेको छ ।

कर्मचारी खर्च र कस्ट अफ फण्ड(स्रोतको लागत) बढ्दा यसले राम्रो नाफा कमाए पनि प्रतिसेयर आम्दानीमा भने नकारात्मक अवस्था बनाइदिएको हो । 

अघिल्लो वर्ष १०३.२६ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा २२.२८ प्रतिशतले गिरावट आई ८०.३३ रुपैयाँमा सीमित बन्न पुगेको छ भने पीई रेसियो १५.०४ गुणा कायम भएको छ ।